बालेन शाह: नेपाललाई विवाह गन्तव्यको रूपमा ब्रान्डिङ गर्ने प्रतिज्ञापछि उठेका प्रश्नहरू
नेपाललाई ‘विवाह गन्तव्य’को रूपमा भारतीय पर्यटकहरूलाई आकर्षित गर्न निजी क्षेत्रले कतिपय नीतिगत चुनौतीहरू समाधान गर्नुपर्ने बताएको छ भने सरकारले यसका लागि सहजीकरण गर्ने प्रतिबद्धता जनाएको छ। यसै साता प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’सँगको भेटमा होटेल व्यवसायी सङ्घका प्रतिनिधिहरूले भारतीय जोडीहरूलाई गरगहनासहितका सामग्रीहरू ल्याउने प्रकृया सरल बनाउन आग्रह गरेका थिए। प्रधानमन्त्रीले चुनावी अभियानका क्रममा जनकपुरलाई विवाह गन्तव्यको रूपमा ‘ब्रान्डिङ’ गर्ने प्रतिज्ञा गरेका थिए र आगामी आर्थिक वर्षको बजेटमा पनि सोही उद्देश्यका एक बुँदा समावेश गरिएको छ।
स्थानीय व्यवसायीहरूले जनकपुरमा विवाहसम्बन्धी पर्यटन प्रोत्साहनका लागि सरकारले पर्याप्त काम नगरेको टिप्पणी गर्दै आएका छन् भने अधिकारीहरूले नेपाल र भारतका विभिन्न स्थानहरूमा प्रचारात्मक कार्यक्रमहरू सञ्चालनको जानकारी दिएका छन् र यस वर्ष ती कार्यक्रमहरूलाई निरन्तरता दिने बताएको छ। अघिल्ला वर्षहरूमा विभिन्न पर्यटकीय केन्द्रहरूमा विदेशीहरूले औँठी साटासाट गरेर विवाह गर्ने खबरहरू प्रचलित थिए। पछिल्ला वर्षहरूमा काठमाडौं, सौराहा, पोखरा जस्ता पर्यटकीय गन्तव्य र भारतको पश्चिम बंगाल, बिहार र उत्तर प्रदेशसँग सीमा जोडिएका नेपाली सहरहरूमा पनि यस्ता विवाह समारोहहरू आयोजना हुँदै आएको अधिकारीहरूले बताएका छन्।
प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले जनकपुरमा सम्बोधन गर्दै भनेका छन् कि नेपालीहरू भारतको जयपुर र इन्डोनेसियाको बालीमा डेस्टिनेशन वेडिङका लागि जाने गर्दछन्। यसै साता सम्पन्न बजेट भाषणमा अर्थमन्त्री स्वर्णिम वाग्लेले पनि जनकपुरलाई विवाहको गन्तव्यका रूपमा ब्रान्डिङ गर्ने योजना प्रस्तुत गरेका थिए। तर, निजी क्षेत्रका प्रतिनिधिहरूले नीतिगत अस्पष्टताहरू अझै कायम रहेको तर्क गर्दै नेपाललाई विवाह पर्यटन गन्तव्यको रूपमा विकास गर्न सरकारले थप कदम चाल्नुपर्ने उनीहरूको मत छ।
होटेल सङ्घ नेपालका उपाध्यक्ष दिनेश तुलाधरले भने, “भारतीयहरूले यहाँका विवाह गन्तव्यप्रति धेरै आकर्षण देखाउँछन्। कानुनी जटिलताहरू पनि हामीले प्रधानमन्त्रीलाई जानकारी गराएका थियौं।” जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेन्द्रकुमार भण्डारीले भने, “प्रधानमन्त्रीले भनेको कुरा हो, तर व्यावहारिक रूपमा १०० प्रतिशतमा एक प्रतिशत पनि काम भएको छैन।” उनले जनकपुरलाई विवाह पर्यटनको केन्द्र बनाउने काम उल्लेख्य रूपमा अघि बढेको छैन भनी बताए।






