Skip to main content

दाउन्ने सडकमा सवारी साधन एकतर्फी सञ्चालन, ५ किलोमिटर लामो जाम

८ चैत, नवलपरासी पूर्व। पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाउन्ने सडकखण्डमा अहिले एकतर्फी सवारी साधन सञ्चालन भइरहेको छ। शुक्रबारदेखि वर्षाका कारण अवरुद्ध भएको नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिका-२ स्थित दाउन्ने खण्डमा आज बिहानदेखि सवारी साधन एकतर्फी रुपमा सञ्चालनमा आएको छ। जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी उपरीक्षक (एसपी) युवराज खड्का अनुसार आज बिहानदेखि सडकमा पालैपालो रुपमा सवारी साधन सञ्चालन भइरहेको छ।

अहिलेसम्म दुम्कीबासको ज्यामिरेसम्म करिब पाँच किलोमिटर लामो सवारी जाम देखिएको छ। तीन दिनदेखि सडक अवरुद्ध भएको कारण यात्रुहरू अलपत्र परेको स्थिति रहेको छ। विस्तारको क्रममा रहेको दाउन्ने सडकखण्डमा वर्षा भएपछि सडक चिप्लो र हिलो भएकोले यातायात अवरुद्ध भएको छ। सडकमा भएको हिलाले गर्दा सवारी साधनहरूलाई दाउन्ने उकालो पार्न समस्या भइरहेको प्रहरीले जनाएको छ। नारायणगढ-बुटवल सडकखण्डको अधिकांश भाग कालोपत्र भइसके पनि दाउन्नेको करिब चार किलोमिटर सडक निर्माणको काम पूरा नहुँदा यात्रुले कठिनाई भोग्न परेको अवस्था छ।