Skip to main content

एकैदिन सुनको मूल्य १२ हजार ५ सय रुपैयाँले घट्यो

समाचार सारांश

सम्पादकीय रूपमा समीक्षा गरिएको।

  • आइतबार सुनको भाउ प्रतितोला १२ हजार ५ सय रुपैयाँ घटेर २ लाख ८२ हजार रुपैयाँ पुगेको छ।
  • सुनको भाउ एक सातामा २७ हजार ४ सय रुपैयाँ घटेको छ।
  • चाँदीको भाउ पनि आइतबार प्रतितोला ३५५ रुपैयाँ घटेर ४ हजार ५४० रुपैयाँमा कारोबार भएको छ।

८ चैत, काठमाडौं । आइतबार एकैदिन सुनको भाउ तोलामा १२ हजार ५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुनको मूल्य प्रतितोला २ लाख ८२ हजार रुपैयाँ राखेको छ ।

अघिल्लो दिन सुनको भाउ २ लाख ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । एक हप्ताभित्रै सुनको भाउ २७ हजार ४ सय रुपैयाँले घटेको छ ।

गत आइतबार सुन प्रतितोला ३ लाख ९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । माघ १५ गते सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो ।

तेलको मूल्य वृद्धि भएपछि विभिन्न देशहरूले खरिदका लागि आवश्यक अमेरिकी डलर पनि बढाउनु परेको छ, जसले डलरको माग बढाउँदा सुनको मूल्यमा गिरावट आएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य वृद्धि भएपछि विश्वव्यापी रूपमा ब्याजदर बढाउन दबाब बढेको छ, जुन सुनचाँदीको मूल्यमा दबाव बनेको छ ।

आइतबार चाँदीको मूल्य पनि तोलामा ३५५ रुपैयाँ घटेको छ । अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ८९५ रुपैयाँमा कारोबार भएको थियो भने आइतबार ४ हजार ५४० रुपैयाँमा झरेको छ ।

एक साता भित्र चाँदीको मूल्य ७३० रुपैयाँले घटेको छ । गत आइतबार चाँदी प्रतितोला ५ हजार २७० रुपैयाँमा कारोबार भएको थियो । माघ १५ गते चाँदीको मूल्य हालसम्मकै उच्च ७ हजार ५०५ रुपैयाँमा पुगेको थियो ।