सेतो मच्छेन्द्रनाथको रथ निर्माण प्रक्रिया सुरु, चैत १२ गते राष्ट्रपतिद्वारा दर्शन गरिने

समाचार सारांश
समीक्षा पश्चात तयार।
- चैत्र शुक्ल प्रतिपदादेखि दरबारमार्गस्थित तीनधारा पाठशालामा सेतो मच्छेन्द्रनाथको रथ निर्माण कार्य सुरु गरिएको छ।
- चैत्र १२ गते दिउँसो ४ बजे तीनधारा पाठशालाबाट रथयात्रा सुरु हुनेछ र असनमा पूजा सम्पन्न गरिनेछ।
- रथयात्राका क्रममा राष्ट्रपति रामचन्द्र पौडेलले असनमा दर्शन गरी प्रसाद ग्रहण गर्ने परम्परा छ।
८ चैत, काठमाडौं । दरबारमार्गस्थित तीनधारा पाठशालाबाट चैते दशैँका दिनदेखि सुरु हुने वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्राका लागि रथ निर्माण भइरहेको छ ।
चैत्र शुक्ल प्रतिपदादेखि रथ निर्माण कार्य सुरु गरिएको गुठी संस्थानले जानकारी दिएको छ । संस्थानका प्रवक्ता जनक पोखरेलले चैत्र शुक्ल सप्तमी अर्थात् चैत्र ११ गते भित्र रथ निर्माण सम्पन्न हुने जानकारी राससलाई दिएका छन् ।
यही चैत्र १२ गते दिउँसो ४ बजे तीनधारा पाठशालाबाट सेतो मच्छेन्द्रनाथको रथयात्रा सुरु हुनेछ । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दशमीसम्म राजधानीमा सेतो मच्छेन्द्रनाथको रथयात्रा आयोजना गरिन्छ ।
यस वर्ष पनि पहिलो दिन चैत १२ गते रथ असन पुर्याइने छ । रथ असन पुगेपछि पूजा आराधना गरिनेछ । राजधानीको भित्री भागमा तीन दिनसम्म रथयात्रा सञ्चालन गरिनेछ । असन, वसन्तपुर, जैसीदेवल, लगन हुँदै पुनः रथयात्रा मच्छेन्द्रबहालमा आएर अन्त्य हुनेछ । रथ निर्माणका लागि काठलगायतको व्यवस्था संस्थानले गर्ने परम्परा छ ।
चैत्र शुक्ल अष्टमीका दिन चैत १२ गते कुमारीलाई पनि तीनधारा पाठशाला परिसरमा ल्याएर रथयात्रा सुरु गर्ने परम्परा रहेको सेतो मच्छेन्द्रनाथका पुजारी, समितिका संयोजक तथा काठमाडौँ महानगरपालिका वडा नं २५ का पूर्वअध्यक्ष नीलकाजी शाक्यले जानकारी दिएका छन् ।
चैत १२ गते राति राष्ट्रपति दर्शन गर्ने
असनमा यही चैत १२ गते राति करिब १० बजे राष्ट्रपति रामचन्द्र पौडेलले रथको दर्शन गरी प्रसाद ग्रहण गर्ने कार्यक्रम तय गरिएको छ ।
सेतो मच्छेन्द्रनाथको रथ तानेर असन पुर्याएको राति राष्ट्रपतिले असनमै पुगेर पूजा आराधना र दर्शन गरी प्रसाद ग्रहण गर्ने परम्परा छ ।
तीनधारा पाठशालाअगाडि ३२ हात लामो रथ बनाएर चैते दशैँदेखि तानेर लगिने गरिन्छ । यो रथलाई नागराजको प्रतीक मानिन्छ । प्रत्येक वर्ष यो जात्रापछि वर्षा र सहकाल हुने धार्मिक विश्वास प्रचलित छ । रथको दोस्रो दिन अर्थात् चैत १३ गते असनबाट वसन्तपुरस्थित कालभैरव मन्दिरतर्फ लगिन्छ ।
तेस्रो दिन चैत १४ गते वसन्तपुरबाट लगनसम्म रथयात्रा गरिन्छ । लगनमा सेतो मच्छेन्द्रनाथको आमाको मन्दिरमा रथलाई तीनपटक घुमाउने चलन छ । राजधानीमा सेतो मच्छेन्द्रनाथको रथयात्रा सकिएपछि रातो मच्छेन्द्रनाथको रथयात्रा पनि गरिन्छ ।






