
प्रतीकात्मक तस्वीर
समाचार सारांश
सम्पादकीय रुपमा समीक्षा गरिएको।
- राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका निजी स्वास्थ्य संस्थाहरूको आर्थिक अवस्था र रोजगारी सम्बन्धमा सर्वेक्षण गर्ने तयारी गरेको छ।
- सर्वेक्षण आगामी वैशाखदेखि असार मसान्तसम्म सञ्चालन हुनेछ र २५५१ अस्पतालमा तथ्याङ्क सङ्कलन गरिनेछ।
- सन् २०१३ मा गरिएको सर्वेक्षणअनुसार निजी स्वास्थ्य संस्थाहरूले मुलुकको कुल घरेलु उत्पादनमा एक प्रतिशतभन्दा कम योगदान पुर्याएको तथ्याङ्क कार्यालयका निर्देशक तीर्थराज बरालले बताए।
८ चैत, काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरिका निजी स्वास्थ्य संस्था (अस्पताल)हरूको सर्वेक्षणका लागि तयारी सुरु गरेको जनाएको छ।
देशभरका निजी स्वास्थ्य संस्थाहरूले मुलुकको कुल घरेलु उत्पादनमा कति योगदान पुर्याएका छन् भन्ने अध्ययनका लागि यस सर्वेक्षण आयोजना गरिएको तथ्याङ्क कार्यालयका निर्देशक तीर्थराज बरालले बताए।
उनका अनुसार देशभरका निजी सामुदायिक अस्पतालहरूमा गणकद्वारा सर्वेक्षण गरिनेछ। आगामी वैशाखदेखि असार मसान्तसम्म तथ्याङ्क सङ्कलन गरिने तयारी छ।
‘हाल कर्मचारी करारमा छनोट गर्ने प्रक्रिया भइरहेको छ। ती कर्मचारीलाई तालिम दिइनेछ,’ उनले भने, ‘र त्यसपछि उनीहरूलाई तथ्याङ्क सङ्कलनका लागि अस्पतालहरूमा पठाउने योजना छ।’
सर्वेक्षणमार्फत अस्पतालहरूको आर्थिक अवस्था र त्यहाँ प्रदान गरिने रोजगारीको तथ्याङ्क सङ्कलन गरिनेछ।
कार्यालयले प्रत्येक १० वर्षमा निजी स्वास्थ्य संस्थाको सर्वेक्षण गर्ने नीति भए पनि केही वर्ष ढिलाइ भएको जानकारी छ।
सन् २०१३ मा गरिएको सर्वेक्षणमा निजी स्वास्थ्य संस्थाहरूको मुलुकको कुल घरेलु उत्पादनमा योगदान एक प्रतिशतभन्दा कम रहेको तथ्याङ्क कार्यालयका निर्देशक बरालले जानकारी दिए।
त्यतिबेला करिब एक सय अस्पतालमा मात्र सर्वेक्षण गरिएको थियो भने यसपटक २५५१ अस्पतालमा सर्वेक्षण गरिने तयारी गरिएको छ।






