Skip to main content

हेअर एक्स्टेन्शन: नक्कली कपालमा स्तन क्यान्सरसँग सम्बन्धित रासायनिक पदार्थहरू

विश्वका दशौँ लाख महिलाले लगाउने नक्कली कपाल (हेअर एक्स्टेन्शन)मा स्तन क्यान्सर गराउन सक्ने, होर्मोनसम्बन्धी समस्या ल्याउन सक्ने वा प्रजनन समस्या निम्तिन सक्ने एउटा ‘ठूलो आकारको’ अध्ययनले देखाएको छ। विभिन्न प्रकारका त्यस्ता कपालमा झन्डै ५० किसिमका हानिकारक रसायन पाइएका वैज्ञानिकहरूले बताएका छन्। ‘द अमेरिकन केमिकल सोसाइटी जर्नल’मा छापिएको उक्त अध्ययनले अर्बौँको नक्कली कपाल उद्योग नियमन गर्न कडा नियम आवश्यक रहेको र उपभोक्ताले थाहा पाउनुपर्ने धेरै कुरा रहेको जनाएको छ।

अध्ययनकी मुख्य लेखक एलिसिआ फ्र्याङ्क्लिन भन्छिन्, “नक्कली कपाल एकपटक लगाएपछि केही हप्ता वा त्योभन्दा लामो समयसम्म लगाइने र लगाइएका बेला छालासँगै जोडिएर रहने हुँदा दीर्घकालीन स्वास्थ्य खतरा हुन सक्छ।” उनले थपिन्, “कपाल तपाईँको टाउकोको छालामाथि बस्छ अनि यसलाई हप्तौँ वा महिनौँसम्म लगाइन्छ। यसलाई लामो समय लगाउने हो भने त्यसले दीर्घकालीन स्वास्थ्य समस्या ल्याउन सक्छ।”

सन् २०२८ सम्ममा विश्वव्यापी नक्कली कपाल बजारको मूल्य १४ अर्ब डलरभन्दा बढीको हुने अनुमान गरिएको छ। वैज्ञानिकहरूले परीक्षण गरेका ४३ नमुनामा १७० किसिमका रसायन पाइएका थिए। तीमध्ये ४८ रसायन चाहिँ अन्तर्राष्ट्रिय जोखिम सूचीमा रहेका छन्। फ्र्याङ्क्लिन भन्छिन्, “त्यसमा आगो निभाउनेदेखि कीट नियन्त्रकसम्म र प्रजनन शक्तिमा असर पार्ने थ्यालेट नामक यौगिकहरू छन्।” अध्ययनले हानिकारक रसायनको तह जाँचेको थिएन, तर होर्मोनलाई प्रभाव पार्ने तत्त्वहरू सानो मात्रामा भए पनि असर गर्ने फ्र्याङ्क्लिन बताउँछिन्।

नक्कली कपालमा केन्द्रित अघिल्ला अध्ययनमा त्यस्ता कपालमा हानिकारक धातु पाइएको थियो। यसपालिको अध्ययनमा मानव रौँकै ११ वटा नमुना पनि समेटिएका थिए। फ्र्याङ्क्लिन भन्छिन्, “उत्पादनहरूमा मानव रौँ भनेर लेबल टाँसेको छ भन्दैमा ती कारखानामा उत्पादित कपालभन्दा सुरक्षित हुँदा रहेनछन् भन्ने देखियो।” अध्ययन गरिएका ४३ मध्ये दुई नमुनामा मात्र कुनै हानिकारक रासायनिक पदार्थ नरहेको वैज्ञानिकहरूले पाएका थिए। तर यस्ता दाबीले पनि झुटो आश्वासन दिने हो कि भन्ने फ्र्याङ्क्लिन भन्छिन्।