
नेपाली कांग्रेसले पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गराउन सरकारसँग माग गर्ने निर्णय गरेको छ। कार्की आयोगले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको घटना छानबिन गरी तयार पारेको प्रतिवेदन प्रधानमन्त्रीलाई भेटाएको छ। सरकारले प्रतिवेदन सार्वजनिक नगरेपछि प्रदर्शनहरू भइरहेका छन् र कांग्रेसले यसलाई सार्वजनिक गर्नु सरकारको कर्तव्य भएको जनाएको छ। ८ चैत, काठमाडौं।
नेपाली कांग्रेसले कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गर्ने भएको छ। जारी केन्द्रीय समितिको बैठकमा जेनजी आन्दोलनको घटना जाँचबुझका लागि गठन गरिएको पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले सरकारलाई बुझाएको प्रतिवेदन सार्वजनिक गर्न सरकारको ध्यान आकर्षित गर्ने विषय उठेको हो। ‘केन्द्रीय समिति बैठकले उक्त आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गर्ने निर्णय गरेको छ,’ कांग्रेस महामन्त्री प्रदीप पौडेलले भने, ‘आयोगले प्रस्तुत गरेको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी पनि हो। यसलाई सार्वजनिक गर्न पार्टीले सरकारसँग माग गर्नेछ।’
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएको मानवीय र भौतिक नोक्सानको छानबिन गर्न सरकारले जाँच आयोग गठन गरेको थियो। उक्त आयोगले करिब ६ महिना समय लगाएर तयार पारेको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइसकेको छ। सरकारले उक्त प्रतिवेदन भने सार्वजनिक गरेको छैन। प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शनहरू भइरहेका छन्।






