नेपाल निर्वाचन २०८२: रास्वपा सरकारमा मन्त्री कसले छान्छ, मन्त्रिपरिषद् कत्रो हुन्छ

समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना सकिएसँगै धेरैको ध्यान नयाँ सरकार कहिलेसम्म बन्छ भन्नेमा केन्द्रित भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूले वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को नेतृत्वमा नयाँ सरकार बन्ने बताएका छन्। निर्वाचनमा पार्टीले उनलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेको थियो। रास्वपाका एक नेताले समानुपातिक सांसदहरूको टुङ्गो लागेसँगै सरकार गठनको विषयमा छलफल अगाडि बढाउने जानकारी दिएका छन्। निर्वाचन आयोगले समानुपातिक सांसद छान्न दलहरूलाई चाँडै चिठी पठाउने आयुक्त सगुन शम्शेर जबराले बताए। “सकेसम्म आजै पत्र पठाउने हाम्रो प्रयास छ,” उनले भने।
समानुपातिक सांसद छान्नका लागि दुई दिनको समय दिन सकिने भन्दै जबराले चैत्र ५ गतेभित्र अन्तिम निर्वाचन प्रतिवेदन राष्ट्रपतिलाई बुझाउने योजना रहेको जनाए। आयोगका अधिकारीहरूले बिहीवारसम्म सीट बाँडफाँट गरिने बताएका छन्। रास्वपा, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिक सीट पाउने छन्। रास्वपाका नेताले चिठी पठाएपछि सरकार गठनबारे छलफल थालिने बताएका छन्। “दुई-तीन दिन त्यसमा लाग्ला। सांसद कोको बन्ने छन् त्यस आधारमा बल्ल सरकार गठनबारे कुरा अगाडि बढ्छ,” खनालले भने।
वरिष्ठ नेता बालेनलाई प्रधानमन्त्री बनाउने भनेको रास्वपाले मन्त्री छान्नेसहितका विषयमा औपचारिक रूपमा अहिलेसम्म केही बोलेको छैन। रास्वपाका केन्द्रीय सदस्य एवं भूतपूर्व शिक्षामन्त्री शिशिर खनालले मन्त्री चयनमा पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता शाहकै भूमिका रहने बताउँछन्। “पहिलाको अभ्यासमा हामीले पार्टी सभापतिलाई [मन्त्री छान्ने] जिम्मेवारी दिने गर्थ्यौँ। मलाई लाग्छ यस पटक दुई जनाको भूमिका महत्त्वपूर्ण हुन्छ,” उनले भने।
गैरसांसद विज्ञलाई कि सांसदलाई मन्त्री बनाउनुपर्छ भन्नेबारे अहिले बहस सुरु भएको छ। कार्यकारी प्रत्यक्ष प्रधानमन्त्रीसँगै संसद्बाहिरका विज्ञहरूलाई मन्त्री बनाउने रास्वपाले परिकल्पना गरेको नेता खनाल बताउँछन्। तर, अहिलेको संवैधानिक व्यवस्थाअनुसार सङ्घीय संसद्बाहिरबाट छ महिनाका लागि मात्रै कुनै विज्ञलाई मन्त्री बनाउन सकिन्छ। खनालका अनुसार विगतको अभ्यास हेर्दा रास्वपाले सरकारलाई आवश्यक सरसल्लाह दिन पार्टीको एउटा समिति पनि गठन गर्न सक्छ। रास्वपाले दुईतिहाइभन्दा केही कम सीट जितेपछि प्रदेश संरचनाबारे के गर्छ भन्नेबारे जिज्ञासा रहेको पाइन्छ। खनालले संविधान संशोधनबिना प्रदेश संरचना सम्बन्धमा केही गर्न सकिने सम्भावना देख्दैनन्।






