
काठमाण्डू बसन्तपुरकी एलिशा महर्जन केही महिनाअघि सम्म पनि ‘भोट हालेपनि नहालेपनि के नै हुन्छ होला’ भनेर सोच्ने गर्थिन्। तर गएको भदौमा भएको ‘जेन जी आन्दोलन’ पछि यी १९ वर्षकी किशोरीको बुझाइ बदलियो। बिहीवार आफ्नो टोलमा रहेको मतदान केन्द्रमा पुगेर उनले पहिलो पटक भोट खसालिन्। उनले भनिन्, “जेन जी आन्दोलनकै कारण उत्प्रेरित भएर हामीले पनि भोट हाल्नुपर्छ भन्ने सोचेर मैले मतदान गरेँ।” गएको भदौमा नव युवा पुस्ताका तन्नेरीहरूले देशमा भ्रष्टाचार र कुशासन व्याप्त रहेको भन्दै राजधानीमा प्रदर्शन गरेका थिए। कम्तीमा ७७ जनाको ज्यान गएको उक्त प्रदर्शनपछि गठन गरिएको अन्तरिम सरकारले प्रतिनिधिसभा विघटन गर्दै आम चुनावको घोषणा गरेको थियो। त्यसरी हुन पुगेको आम चुनावमा आफ्नो अभिमत व्यक्त गरेपछि महर्जनले भनिन्, “पहिलो पटक भोट खसाल्दा हाम्रो जीवनमा केही राम्रै परिवर्तन आउला भन्ने अपेक्षा राखेकी छु। देश पनि थप विकास होला भन्ने सोचेर नै मैले भोट गरेकी हुँ।”
नेपालको कूल जनसङ्ख्याको झन्डै ४६ प्रतिशत युवाहरू रहेको राष्ट्रिय जनगणनाले देखाउँछ। कूल जनसङ्ख्याको झन्डै १९.७ प्रतिशत व्यक्तिहरू १५ देखि २४ वर्षको उमेरका रहेका पछिल्लो जनगणनाले देखाएको थियो। यो चुनावमा भाग लिन योग्य रहेका करिब १ करोड ९० लाख मतदाता मध्ये झन्डै १० लाख मतदाता पहिलो पटक भोट खसाल्ने समूहका रहेका विवरणहरू आएका थिए। राजधानी काठमाण्डूको बसन्तपुर क्षेत्रमा पहिलो पटक मतदान गर्नेमा १९ वर्षका विद्यार्थी सृजल श्रेष्ठ पनि थिए। भ्रष्टाचार र देश विकासका लागि आफू मतदान गर्न उपस्थित भएको उनले बताए, “मेरो आफ्नै उमेरका साथीहरूले ज्यान गुमाए। राम्रो व्यक्ति राजनीतिमा लिएर आएर काम गर्नुपर्छ भन्ने मेरो भावना हो। भ्रष्टाचार धेरै बढी रहेको छ। त्यो कम गरियोस् र नेपाल विकास होस् भनेर म भोट हाल्न आएको हुँ।”
ज्ञानेश्वरको मतदान केन्द्रमा मतदान गरेपछि १९ वर्षकी सर्वश्री गर्तौला पहिलो पटक मतदान गर्दा आफू ‘आत्तिएको’ भएपनि राम्रोसँग भोट हालेको बताइन्। उनले भनिन्, “यसपालि हामी जस्तो युवाहरूले मतदान गर्नैपर्ने थियो। हामीले आफ्नो कर्तव्य पूरा गर्यौँ। जनताको समस्याहरू समाधान होस् भन्ने आशा छ। अवसरहरू देशभित्रै होस्। रोजगारीको अवसर यहीँ मिलोस् भन्ने आशा गरेको छु।”
मतदाता सूचीमा नाम दर्ता गराएका मध्ये फागुन २० गतेसम्म १८ वर्ष पुग्ने व्यक्तिहरूलाई प्रतिनिधिसभा सदस्यको निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ। सुनसान सडक, मतदाताको लाइन, सुरक्षाकर्मीको बाक्लो उपस्थिति, विभिन्न किसिमका सङ्केत चिन्हहरू र कर्मचारीहरूलाई पार गर्दै मतपत्र लिएर मतपेटिका सम्म पुग्नु कतिपय युवा मतदाताहरूका लागि एउटा कौतूहलको विषय बनेको पाइएको थियो। चितवनका २३ वर्षका रोनिश कर्माचार्यले भने, “पहिला आमाबुवा भोट हाल्नुभएको देखेको मात्रै थिएँ। पहिलो पटक आफैं जाँदा सुरूमा अलिकति गाह्रो भयो। के हो थाहा थिएन। तर अरूले गरेको देखेपछि सहज रहेछ।”
नुवाकोट क्षेत्र नम्बर २ म्यागाङकी पुष्पा रिमालले बिहानै भोट हालेकी थिइन्। उनले पहिलो पटक मताधिकार प्रयोग गर्दा आफू निक्कै खुसी र गर्व महसुस गरेको सुनाइन्। उनले भनिन्, “सुरु-सुरुमा कसरी भोट गर्ने होला जस्तो लागेको थियो। त्यहाँ गएपछि सहज लाग्यो। म आफैंलाई नेपालकी नागरिक भएको महसुस गर्न पाएँ। र म निक्कै खुसी छु।”
प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको चुनावी सरकारले गएको मङ्सिर महिनामा जेनजी प्रदर्शनकारीहरूसँग सम्झौता गरेको थियो जसमा जेन जी आन्दोलनमा भएको मानवअधिकार उल्लङ्घन र हिंसाको छानबिन गरी दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाइएको छ।






