
संयुक्त राज्य अमेरिका र इरानका अधिकारीहरूले जारी युद्ध अन्त्य गर्ने विषयमा वार्ता भएको विषयमा परस्पर भिन्न टिप्पणी गरेका छन्। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले दुई देशबीच “शत्रुता पूर्णरूपमा समाधान गर्न” मध्यपूर्वमा वार्ता भइरहेको बताएका छन्। तर इरानी संसद् सभामुखले उक्त दाबी खण्डन गर्दै त्यसलाई “भ्रामक समाचार” भनेका छन्।
तेहरानसँग “फलदायी छलफल” भएको भन्दै ट्रम्पले सामाजिक सञ्जालमा गरिएको पोस्टमा इरानका ऊर्जा पूर्वाधारमाथि हुनसक्ने आक्रमण पाँच दिनका लागि स्थगित गरिएको जनाएका छन्। ट्रम्पले यो साताभरि छलफल निरन्तर चल्ने बताएका छन्। “यी गहन, विस्तृत र रचनात्मक छलफलका भाव र शैलीको आधारमा, जसले पुरा हप्ता निरन्तरता पाउनेछ, मैले युद्ध मामिला नियन्त्रक निकायलाई इरानका विद्युत् केन्द्रहरू र ऊर्जा पूर्वाधारहरूमा पाँच दिनका लागि सबै किसिमका सैन्य कारबाही स्थगन गर्न भनेको छु,” ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्।
यद्यपि कतिपय इरानी अधिकारीहरूले अमेरिकासँग कुराकानी भएको ट्रम्पको भनाइलाई अस्वीकार गरेका छन्। इरानी संसद् सभामुखले त्यसरी कुनै छलफल नभएको भन्दै यस्तो दाबीलाई “तेल बजारलाई प्रभावित पार्ने” प्रयास भएको टिप्पणी गरेका छन्। “अमेरिकासँग कुनै वार्ता गरिएको छैन। वित्तीय र तेल बजारलाई प्रभावित पार्न र अमेरिका र इजरेललाई फसेको दलदलबाट जोगाउन भ्रामक समाचार प्रयोग भइरहेको छ,” मुहम्मद-बागेर गलिबाफले ट्विटरमा लेखेका छन्।
ट्रम्पले इरानमाथि हमला स्थगित गर्दै छिट्टै शान्ति सम्झौता हुन सक्ने बताएपछि सोमबार विश्व बजारमा कच्चा तेलको मूल्य घटेको थियो। तर पछि ब्रेन्ट क्रूडको मूल्य बढेर प्रति बैरल १०० डलर नाघेको छ। इरान युद्धबारे संक्षिप्त प्रतिक्रिया दिँदै अमेरिका “एउटा ठूलो सम्झौतामा” केन्द्रित भएको बताए। “मेरो सारा जीवन सम्झौतासम्बन्धी कुराकानीमा बितेको छ तर इरानसँग हामी लामो समयदेखि छलफल गरिरहेका छौं। यस पटक उनीहरूले साँच्चिकै गम्भीरता देखाएका छन्।”
मध्यपूर्वको स्थितिमा तनाव जारी छ। इरानको तेहरानमा हमला भैरहेको विवरणहरू आएका छन्। इरानी सञ्चारमाध्यमहरूका अनुसार राजधानी तेहरानमा हवाई प्रतिरक्षा प्रणाली सक्रिय गरिएको छ। इरानको इस्लामिक रेभोल्युशनरी गार्ड कोरसँग सम्बन्धित समाचार संस्था ‘फार्स’ले अमेरिका र इजरेलमाथि मध्यइरानको इस्फहानमा ग्याससम्बन्धी प्रशासनिक भवन र ग्यासको दबाब घटाउने स्टेसनमाथि आक्रमण गरिएको आरोप लगाएको छ।






