
बाल्यकालमा सामाजिक सञ्जाल (सोशल मिडिया)को लत लागेको भन्दै एक युवतीले मेटा र यूट्यूबविरुद्ध दायर गरेको मुद्दामा लस एन्जलिसको एक अदालतले ती युवतीको पक्षमा अभूतपूर्व निर्णय सुनाएको छ। अदालतमा जुरीले मेटा र गुगलले जानाजानी ‘लत लाग्ने किसिमका’ प्लेटफर्महरू बनाएको र त्यसले २० वर्षे ती युवतीको मानसिक स्वास्थ्यमा समस्या निम्त्याएको निष्कर्ष निकालेको छ। मेटाले इन्स्टाग्राम, फेसबुक र ह्वाट्स्याप संचालन गर्छ भने गुगलले यूट्यूब चलाउँछ। उक्त मुद्दा दायर गरेकी महिला केलीलाई क्षतिपूर्तिस्वरूप ६० लाख अमेरिकी डलर उपलब्ध गराउन अदालतले आदेश दिएको छ।
अमेरिकाभरिका विभिन्न अदालतहरूमा विचाराधीन रहेका यस्ता मुद्दामा यो फैसलाको असर पर्ने विश्वास गरिएको छ। मेटा र गुगलले उक्त निर्णयप्रति असहमति जनाएका छन् र पुनरावेदन गर्ने तयारीमा रहेको बताएको छ। मेटाले भनेको छ- किशोरकिशोरीहरूको मानसिक स्वास्थ्य जटिल विषय हो र यसलाई एउटा एपसँग मात्र जोडेर हेर्न नमिल्ने। गुगलका एक प्रवक्ताले भने, “यस मुद्दामा यूट्यूबलाई गलत तरीकाले बुझिएको छ किनभने यो जिम्मेवारी सहित बनाइएको स्ट्रीमिङ प्लेटफर्म हो, सोशल मिडिया साइट होइन।”
अदालतले केलीलाई ३० लाख डलर क्षतिपूर्तिस्वरूप र ३० लाख डलर दण्डको रूपमा यी कम्पनीहरूले उपलब्ध गराउनुपर्ने अन्तरिम आदेश दिएको छ, किनभने उनीहरूले आफ्ना प्लेटफर्महरूमा “दुर्भावना, उत्पीडन वा धोखाधडी गरेको” ठहर गरिएको छ। मेटाले ७० प्रतिशत र गुगलले ३० प्रतिशत क्षतिपूर्ति बेहोर्नुपर्ने भनिएको छ। अदालतबाहिर अभिभावकहरूले सामाजिक मिडियाका कारण आफूहरूलाई नोक्सान पुगेको बताउँदै खुसी व्यक्त गरे।
फैसला सुनिएपछि एमी नेभिलजस्ता अभिभावकहरूले खुसी व्यक्त गरे र अन्य अभिभावक तथा समर्थकहरूसँग अङ्कमाल गरेर खुशी साटे। यसअघि न्यू मेक्सिकोको एक अदालतले मेटालाई बच्चाहरूलाई यौनसम्बन्धी विषयवस्तु र यौन दुराचारको जोखिममा पुर्याएकोमा दोषी ठहर्याएको थियो। प्रोलक्सले भने, “सामाजिक मिडियाप्रति नकारात्मक भावना वर्षौँदेखिको बढ्दो प्रवृत्ति हो र अहिले यसको चरम अवस्थामा पुगेको अवस्था हो।”






