
नवनिर्वाचित सांसदहरूको शपथपश्चात राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा चासो पुनः देखिन थालेको छ। झण्डै दुईतिहाइ बहुमत पाएको रास्वपाका प्रवक्ता तथा सांसद मनीष झालाले जनअपेक्षाअनुसार जिम्मेवारीपूर्वक अगाडि बढ्ने बताएका छन्। प्रतिपक्षमा रहेका दलका सांसदहरूले आगामी दिनमा रास्वपाले अवलम्बन गर्ने नीतिहरूमा आफ्नो साथ र सहकार्य हुने प्रतिक्रिया दिएका छन्। गत भदौमा भएको जेन जी विद्रोहपछि सम्पन्न आम निर्वाचनबाट प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल बनेको रास्वपाका १८२ जना सांसद छन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका ३८, नेकपा एमालेका २५, नेपाली कम्युनिस्ट पार्टीका १७, श्रम संस्कृति पार्टीका सात, राष्ट्रिय प्रजातन्त्र पार्टीका चार र एक जना स्वतन्त्र सांसद रहेका छन्।
स्थापित राजनीतिक दलहरूको आकार खुम्चिएपछि रास्वपालाई ती दलहरूभन्दा फरक देखिनैपर्ने बाध्यता रहेको विश्लेषकहरूले बताएका छन्। यस कुरालाई रास्वपाका नेताहरूले समेत अस्वीकार गरिरहेका छैनन्। अरू दलहरूभन्दा फरक देखिन बहुमत जनताले आफूहरूलाई मत दिएको बताए झाले। “पहिले हामीले अरूलाई बलियो बनायौँ, अहिले तिमीहरूलाई बनाइरहेका छौँ भन्नेतर्फ मतदाताहरूले हामीलाई मत दिएका होइनन्,” उनी भन्छन्। “अर्काले अपेक्षाअनुसार गरेनन्, अब तिमीहरूले गर्नुपर्छ भनेर मतदाताले हामीमा विश्वास राख्नुभएको र मौका दिनुभएको हो। त्यसैले यस विषयलाई स्पष्ट रूपमा बुझेर त्यहीअनुसार काम गर्नेछौँ।”
संसद्सँगै सरकारमा पनि फरक तरिकाले उपस्थित हुन अभिमुखीकरण कार्यक्रमबाटै तयारी सुरु भएको झाले बताए। उनले सरकारको कामकारबाहीमा सतर्क रहन सांसदहरूलाई निर्देशन दिएको उल्लेख गरे। “अभिमुखीकरणमा उपसभापति स्वर्णिम वाग्लेले हामीलाई सरकारप्रति कडा रहने निर्देशन दिनुभयो। रमाएर नबस्नुस् भन्नुभयो,” झाले बताए। “त्यसले जनाउँछ, सरकारले सही बाटो नछाडोस् भनेर उहाँहरूले सचेत गराउनु भएको हो। हामी यस अभ्यासलाई निरन्तरता दिनेछौँ र सजग रहिरहने वातावरण बनाइरहनेछौँ।”






