
टाइम्स बास्केटबल क्लबले एचजेएनबीएल २०२६ मा लगातार आठौं जित हासिल गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा बिहीबार सम्पन्न खेलमा टाइम्सले रोएललाई ७८-६७ को अन्तरले पराजित गरेको हो। नेपाल बास्केटबल संघको आयोजनामा आठ टोलीबीच दोस्रो संस्करणको एचजेएनबीएल चलिरहेको छ। १२ चैत, काठमाडौं।
टाइम्सले सुरुवाती तीन क्वाटर आफ्नो पक्षमा पार्दै चौंथो क्वाटर बराबरी खेलेको थियो। टाइम्सले पहिलो क्वाटरमा १५-१३, दोस्रोमा २४-१६ र तेस्रोमा १७-१६ अंक जोडेको थियो भने चौथो क्वाटरमा दुवै टोलीले समान २२-२२ अंक जोडेका थिए। लगातार आठौं जितपछि टाइम्सले ९ खेलबाट १७ अंक जोड्दै शीर्ष स्थानमा उक्लेको छ। टाइम्सका पेम्बा शेर्पाले सर्वाधिक २० अंक हासिल गरे र म्यान अफ दि म्याच घोषित भएका छन्।
त्यसैगरी, बुधबार राति सम्पन्न खेलमा त्रिभुवन आर्मी क्लबले सोलो बास्केटबल क्लबलाई ८८-७० को फराकिलो अन्तरले हराउँदै सातौं जित हात पारेको छ। आर्मी ८ खेलबाट १५ अंक जोड्न सफल भएको छ। आर्मीका लागि सिमोन गुरुङले सर्वाधिक २२ अंक स्कोर गरे। नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा भइरहेको दोस्रो संस्करणको एचजेएनबीएलमा ८ टिमले प्रतिस्पर्धा गरिरहेका छन्।
डबल राउण्ड रोविन प्रणालीमा सञ्चालन भइरहेको लिगमा कुल ५६ खेल हुनेछ। लिग चरणपछि शीर्ष चार टिमले प्लेअफमा प्रवेश गर्नेछन्। प्लेअफमा लिगमा पहिलो र दोस्रो हुने टिमबीच पहिलो क्वालिफायर खेल हुनेछ भने तेस्रो र चौथो हुने टिमबीच एलिमिनेटर खेल हुनेछ। पहिलो क्वालिफायर हार्ने टिम र एलिमिनेटर जित्ने टिमबीच दोस्रो क्वालिफायर खेलिने छ, जसको विजेताले फाइनल खेलमा भाग लिनेछ। प्रतियोगिताको विजेताले ४ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन् भने उपविजेताले २ लाख र तेस्रो हुने टिमले १ लाख रुपैयाँ पुरस्कार पाउनेछन्। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई मोस्ट भ्यालुएबल प्लेअर (एमभिपी) घोषित गरिनेछ र यसका लागि पनि आकर्षक पुरस्कार प्रदान गरिने नेबाले जनाएको छ।






