Skip to main content

औषधि महँगो हुने र अभावको जोखिम बढ्दै

मध्यपूर्व द्वन्द्वले नेपालमा औषधि उत्पादन र आपूर्तिमा असर पारेको छ जसले कच्चा पदार्थ र प्याकेजिङ सामग्रीको मूल्यमा अनपेक्षित वृद्धि भएको छ भनेर उत्पादकहरूले बताएका छन्। नेपाल औषधि उत्पादक संघका महासचिव सन्तोष बरालका अनुसार पेट्रोलियमका उपउत्पादनमा आधारित औषधि उत्पादन लागत ४० देखि १०० प्रतिशतसम्म बढेको छ। औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले मूल्य वृद्धिको र आपूर्ति समस्याको कारण तोकिएको मूल्यमा औषधि उत्पादनमा चुनौती आएको जानकारी दिनुभयो। ११ चैत, काठमाडौं।

मध्यपूर्व (पश्चिम एसिया) मा बढ्दो द्वन्द्वले नेपालमा औषधि उत्पादन र आपूर्तिमा प्रत्यक्ष प्रभाव पार्न थालेको छ। नेपाल औषधि उत्पादक संघ (एप्पोन) का महासचिव सन्तोष बरालले कच्चा पदार्थ र प्याकेजिङ सामग्रीको मूल्यमा अस्वाभाविक वृद्धिले औषधि उद्योगमा ठूलो प्रभाव परेको बताए। औषधि उत्पादनदेखि प्याकेजिङसम्म पेट्रोलियमका उपउत्पादनमा निर्भरता बढी भएकाले आपूर्ति चक्रमा समस्या आएपछि औषधि अभाव र मूल्यवृद्धि हुने बरालले बताए।

औषधि उद्योगका अनुसार कतिपय औषधिका कच्चा पदार्थ पेट्रोकेमिकलबाट तयार हुन्छन्। पेट्रोलियमको मूल्य बढ्दा ती कच्चा पदार्थको लागत स्वतः बढ्छ जसले औषधि उत्पादन लागतमा दबाब पर्ने र सोझो प्रभाव बजार मूल्यमा पर्ने हुन्छ। क्याप्सुल, ट्याब्लेट कोटिङ, सिरपमा प्रयोग हुने सोल्भेन्ट, मल्हममा प्रयोग हुने जेली जस्ता सामग्री पनि पेट्रोलियमबाट नै बन्ने भएकाले आपूर्तिमा अवरोध आए उत्पादन प्रभावित हुने औषधि उत्पादकहरूले जनाएका छन्।

प्याकेजिङ क्षेत्रमा पनि समस्या थपिनेछ। औषधि राख्ने ब्लिस्टर प्याक, प्लास्टिक बोतल, सिरिन्ज जस्ता सामग्री पेट्रोकेमिकलबाट बन्ने भएकाले आपूर्ति अवरुद्ध हुँदा वितरण प्रणालीमा असर पर्ने सम्भावना छ। कच्चा पदार्थदेखि तयार औषधिसम्म विदेशबाट आयात गर्नुपर्ने भएकाले अन्तर्राष्ट्रिय बजारको उतारचढावले नेपाली बजारमा सिधा असर पुगेको महासचिव बरालले बताए। उद्योगीहरूले औषधि उत्पादनमा ४० प्रतिशतदेखि १०० प्रतिशतसम्म लागत वृद्धि भएको पनि उनले जानकारी दिए।