
जल तथा मौसम विज्ञान विभागले आगामी शुक्रबार र शनिबार पश्चिमी हावा सक्रिय भई हल्का देखि मध्यम वर्षा र हावाहुरी हुने अनुमान गरेको छ। मौसमविद्हरूका अनुसार काठमाडौं उपत्यकामा पनि शुक्रबार र शनिबार हल्का वर्षा र हावाहुरी आउने सम्भावना रहेको छ। १२ चैत, काठमाडौं। यस हप्ता अन्त्यतर्फ पश्चिमी हावा फेरि सक्रिय हुने सम्भावना देखिएसँगै हावाहुरी र मेघगर्जनसहित हल्का देखि मध्यम वर्षा हुने अनुमान गरिएको छ। विभिन्न मौसम पूर्वानुमान मोडेलहरूले अहिलेसम्मको प्रणालीको प्रभाव पूर्वदेखि पश्चिमसम्म नेपालभर वर्षा हुने देखाएका छन्। यद्यपि पूर्वी भागमा बढी र पश्चिमी भागमा कम प्रभाव पर्ने अपेक्षा गरिएको छ। जल तथा मौसम विज्ञान विभागका मौसमविद्हरूले पनि आगामी शुक्रबार र शनिबार पानी पर्ने सम्भावना प्रक्षेपण गरेका छन्।
विभागका वरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार काठमाडौं उपत्यकामा शुक्रवार र शनिबार हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ। यसअघि चैत ६ र ७ गते काठमाडौं उपत्यका र अधिकांश क्षेत्रमा हावाहुरी र असिनासहित पानी परेको थियो। हिमाली जिल्लामा हिमपात पनि भएको थियो। वर्षाले कृषकहरूलाई राहत त पुर्यायो भने असिना र हावाहुरीले केही समस्या पनि सिर्जना गर्यो। ताजा उपग्रह तस्वीरहरूमा भारत र वरिपरि क्षेत्रहरूमा वर्षा गर्ने बादलको बाक्लो तह देखिन्छ, जसको प्रभाव नेपालमा पनि पर्ने सम्भावना छ। हल्का देखि मध्यम वर्षा हुन सक्ने सम्भावना जल तथा मौसम विज्ञान विभागकी मौसमविद् बिनु महर्जनका अनुसार बिहीवारदेखि नै यस प्रणालीको प्रभाव देखिन थाल्नेछ। उनले भनिन्, ‘शुक्रबार र शनिबार पानी पर्ने सम्भावना छ र यसको संकेत बिहीवारदेखिनै देखिन सुरु हुन्छ।’
उनका अनुसार धेरै स्थानमा हल्का देखि मध्यम वर्षा हुन सक्ने सम्भावना छ। प्रिमनसुनको समयमा हावाहुरी र चट्याङको जोखिम बढी हुन्छ, त्यसैले सावधानी अपनाउन सुझाव दिइन्छ। काठमाडौंमा पनि हावाहुरी चल्ने सम्भावना बढ्दै गएको नयाँ प्रणालीले हावाहुरी, असिना, वर्षा र हिमपात गराउन सक्छ साथै चिसोपन पनि महसुस गराउनेछ। यसको प्रभाव काठमाडौं उपत्यका समेत पर्ने सम्भावना छ। मौसमविद् डा. विनोद पोखरेलका अनुसार पश्चिम तराई क्षेत्रमा अलिकति वर्षा हुने सम्भावना छ भने अरू स्थानहरूमा हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ। जलवायु विश्लेषक डा. धर्मराज उप्रेतीले वर्षासँगै काठमाडौं उपत्यकामा साँझतिर हावाहुरी चल्ने सम्भावना रहेको बताए। तर, डाँडापाखेरोले घेरिएको काठमाडौं उपत्यकामा ठूलो हावाहुरी चल्ने सम्भावना कम रहेको जानकारी दिएका छन्।
उनले भने, ‘भारतको बिहार र उत्तर प्रदेशतर्फबाट नेपालमा प्रणाली प्रवेश गर्न लागेपछि लुम्बिनी–चितवन क्षेत्रसम्म यसको प्रभाव बढी पर्ने सम्भावना छ, तर काठमाडौं उपत्यकामा कम पर्ने देखिन्छ।’ उनले थपे, ‘तर त्यो पनि तात्कालिक र मध्यम खालको हुनेछ।’ उच्च पहाडी र हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना छ। नयाँ प्रणाली कतिको शक्तिशाली छ? चैत ६ र ७ गतेको प्रणालीको तुलनामा यो प्रणाली कम शक्तिशाली हुने अनुमान गरिएको छ। मौसमविद् बिनु महर्जनले भनिन्, ‘अहिलेसम्मको अवस्थाबाट हेर्दा पहिलेको भन्दा कम शक्तिशाली हुने देखिन्छ।’ जलवायु विश्लेषक डा. धर्मराज उप्रेतीका अनुसार युरोपियन युनियन, जर्मन र भारतका मौसम पूर्वानुमान संस्थाहरूले आगामी शुक्रबार र शनिबार हल्का देखि मध्यम वर्षा हुने अनुमान गरेका छन्।
वर्षाको प्रभाव पूर्वी नेपालमा बढी र पश्चिमी भागमा कम पर्ने देखिन्छ भने हावाहुरी पश्चिमी भागमा बढी र पूर्वी क्षेत्रमा कम पर्ने सम्भावना देखिएको छ। उप्रेतीले भने, ‘यसको प्रभाव शुक्रबार साँझदेखि शनिबार दिउँसोसम्म रहने देखिन्छ। काठमाडौं उपत्यकामा शुक्रबार साँझ हावाहुरी र वर्षा हुने सम्भावना छ।’ भारतमा बढी प्रभाव पर्ने अनुमान भारतको मौसम विभागका अनुसार उक्त प्रणालीले भारतका विभिन्न प्रदेशहरूमा बढी प्रभाव पार्ने अनुमान गरिएको छ, जसका कारण मध्यम जोखिमको सतर्कता जारी गरिएको छ। उपग्रह तस्वीरका आधारमा उत्तर–उत्तरपूर्वी भारतमा मौसम सक्रिय रहने र तापक्रम घटेर चिसोपन बढ्ने अनुमान छ। यसको प्रभावले जम्मु–कश्मीर, हिमाचल प्रदेश र उत्तराखण्डजस्ता हिमाली क्षेत्रहरूमा वर्षा र हिमपात हुने सम्भावना छ। साथै पञ्जाब, हरियाणा, दिल्ली र उत्तर प्रदेशका पश्चिमी क्षेत्रमा मेघगर्जन, हावाहुरी र हल्का देखि मध्यम वर्षा हुने प्रक्षेपण छ। उत्तर–पूर्वी भारतका आसाम, मेघालय र अरुणाचल प्रदेशमा पनि बादल भएर वर्षाको गतिविधि जारी रहने देखिन्छ। दक्षिण भारतको मौसम तुलनात्मक रूपमा स्थिर देखिन्छ यद्यपि कतिपय ठाउँमा बादल देखिएको छ। यसले नेपालको तापक्रममा समेत केही गिरावट आउने र चिसोपन बढ्ने अनुमान गरिएको छ।






