प्रधानमन्त्री सुशीला कार्कीले नयाँ सरकारलाई जेनेजी आन्दोलनका माग पूरा गर्ने प्रतिबद्धता व्यक्त गरिन्

प्रधानमन्त्री सुशीला कार्कीले जेनेजी आन्दोलनका मागहरू नयाँ सरकारले पूरा गर्नुपर्ने कुरामा जोड दिएकी छन्। उनले आफ्ना ६ महिनाको चुनावी सरकारले निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको उल्लेख गर्दै केही आधारशिला तयार गरेको बताइन्। सरकारले भ्रष्टाचार छानबिन गर्ने निकायलाई स्वतन्त्रता दिएको र आन्दोलनको सम्झौताका बाँकी कामहरू नयाँ सरकारले अघि बढाउने विश्वास व्यक्त गरिन्। १२ चैत, काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले जेनेजी आन्दोलनका मागहरू नयाँ सरकारले पूरा गर्नु पर्ने जोड दिएकी छन्। उनले ६ महिनेको अवधिको नेतृत्वमा रहेको सरकारले निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको र आन्दोलनका माग सम्बोधन गर्न आधारशिला तयार भएको बताइन्।
‘हामीलाई दिइएको छ महिनाको चुनावी सरकारले जेनेजी आन्दोलनमा व्यक्त भएका सबै काम गर्न सक्ने अवस्था थिएन। तर हामीले केही आधारशिला अवश्य तयार गरेका छौं। जटिल अपराध र भ्रष्टाचार छानबिन गर्ने निकायहरूलाई पूर्ण व्यावसायिक स्वतन्त्रतासहित काम गर्ने वातावरण बनाउन प्रेरित गर्यौं,’ बिहीबार राति राष्ट्रलाई सम्बोधन गर्दै उनले भनिन्। ‘फलस्वरूप अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीले चलाएको केन्द्रीय अनुसन्धान ब्युरोले लामो समयदेखि दबाइएका मुद्दाहरूमा कार्य अघि बढाएको छ। ठेक्का लिएर काम नगर्ने र बिजुली चोरी गरेर बिल नतिर्ने जस्ता बेथितिविरूद्ध पनि सरकारले ऐतिहासिक रुपमा कडा कदम उठाएको छ।’
उनले जेनेजी आन्दोलनको पृष्ठभूमिमा बनेको सरकारले आन्दोलनकारीहरूसँग गत मंसिर २४ गते सम्झौता गरेको र त्यस सम्झौताको बाँकी कामहरू प्राथमिकताका साथ नयाँ सरकारले अघि बढाउने विश्वास व्यक्त गरिन्।
प्रधानमन्त्री कार्कीले आफ्नो सम्बोधनमा २०८२ भदौ २३ र २४ का घटनामा ज्यान गुमाएका बालबालिका र घाइते योद्धाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै, सहारा गुमाएका परिवारलाई एक्लो नछोड्ने आश्वासन दिइन्। उनले भनिन्, “हामी फेरि उठ्नेछौँ भन्ने विश्वासका साथ एकजुट भएर अघि बढ्न म सबैलाई आग्रह गर्दछु।”






