
पूर्वी नेपालको तीन जिल्लामा एक दर्जन भन्दा बढी कुखुरा फार्महरूमा ‘बर्ड फ्लू’ सङ्क्रमण पुष्टि भएपछि ती क्षेत्रलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको छ। सरकारी अधिकारीहरूले पक्षी तथा पक्षीजन्य सामग्रीको ओसारपसारमा रोक लगाइएको जानकारी दिएका छन्। मोरङ, सुनसरी र झापा जिल्लाका १६ वटा कुखुरा फार्महरूमा ६५ हजारभन्दा बढी कुखुरा र १ लाख २२ हजारभन्दा बढी अण्डा नष्ट गरिएको छ।
सङ्क्रमण देखिएका क्षेत्रमा प्राविधिक टोली परिचालन गरी थप सङ्क्रमण फैलन नदिने उपायहरू अपनाइएको कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालयकी वरिष्ठ पशु चिकित्सक डा. दीपा दिवालीले बताइन्। चैतको पहिलो सप्ताहमा मोरङका छ, सुनसरीका पाँच र झापाका एउटा कुखुरा फार्ममा बर्ड फ्लू सङ्क्रमण पुष्टि भएको थियो। हाल पुनः सुनसरी र झापाका चार ठाउँमा बर्ड फ्लू देखिनुले सङ्क्रमण नियन्त्रणमा थप चुनौती आएको अधिकारीहरूले बताएका छन्।
मोरङका निमित्त प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाले उक्त रोग मानिसहरूमा पनि सर्न सक्ने सम्भावना रहेकोले सङ्क्रमण देखिएको क्षेत्रबाट कुखुरा, अण्डा, दाना, सुली लगायत पक्षीजन्य वस्तुहरूको भारोत्तोलनमा रोक लगाइएको बताए। सरकारले किसानहरूलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ। कुखुरा फार्महरूमा बाहिरी व्यक्तिको प्रवेश सीमित गर्न, नियमित सरसफाइ र निसङ्क्रमण गर्न, बिरामी वा मरेका कुखुराबारे तुरुन्त जानकारी दिन, र सुरक्षाका लागि मास्क र पञ्जा जस्ता सामग्रीको प्रयोग गर्न आग्रह गरिएको छ।
मोरङ, सुनसरी, झापा लगायतका जिल्लाहरूमा व्यावसायिक रूपमा ठूलो परिमाणमा कुखुरापालन भइरहेको छ। बर्ड फ्लू सङ्क्रमण देखिन थालेपछि कुखुरापालक किसानहरू चिन्तित भएका छन्। नेपाल अण्डा उत्पादक सङ्घका सुनसरी र मोरङका अध्यक्ष ओम बाँस्कोटाका अनुसार बर्ड फ्लूका कारण सुनसरी र मोरङमा करिव दुई अर्व रुपैयाँ बराबरको क्षति पुगेको अनुमान छ। भारतसँगको खुला सीमाना भएकाले बर्ड फ्लू सङ्क्रमण पनि भित्रिएको हुन सक्ने भएकाले सरकारले यसतर्फ विशेष ध्यान दिनुपर्ने उनीहरूको भनाइ छ।






