
१३ चैत, काठमाडौं। पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथग्रहण समारोहमा आफ्नो १२ वर्षअघिको एक आलेख सम्झिएको बताएका छन्। शुक्रबार साँझ फेसबुकमा लामो अभिव्यक्ति सार्वजनिक गर्दै भट्टराईले २०७० चैतमा नेपाल साप्ताहिकमा प्रकाशित आफ्नो आलेख सम्झिएको बताए। ‘आजदेखि ठीक १२ वर्ष पहिले अर्थात् २०७० चैतमा तत्कालीन प्रतिष्ठित पत्रिका नेपाल साप्ताहिकमा मेरो अग्रलेख– ‘नयाँ शक्तिको खाँचो’ प्रकाशित भएको थियो,’ बालेनले लेखेका छन्। त्यतिबेला संविधानसभाबाट संविधान बनिरहेको र आफू तत्कालीन माओवादी पार्टीको उच्च नेतृत्व पंक्तिमा रहेको उनले उल्लेख गरे।
‘मैले राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण गर्दै संविधान बनिसकेपछि नयाँ युगको नयाँ कार्यभार पूरा गर्न देशमा पुराना दल र नेतृत्वको विकल्पमा नयाँ विचार, नीति, कार्यक्रम, नेतृत्व सहितको नयाँ शक्ति चाहिन्छ भन्ने पक्षपोषण गरेको थिएँ,’ उनले लेखेका छन्। आज नयाँ दल राष्ट्रिय स्वाभिमान पार्टी (रास्वपाका)का तर्फबाट बालेन प्रधानमन्त्री हुँदा त्यो कुरा आफूलाई सम्झना आएको बताए। उनले भने, ‘उहाँको शपथग्रहण पछि बधाई दिँदै गर्दा मेरो मनमष्तिष्कमा त्यो आलेखको स्मरण झलझली आइरहेको थियो।’ यस्तै, उनले त्यो बेला कार्ल मार्क्सको चर्चित कृति ‘The Eighteenth Brumaire of Louis Bonaparte’ को एक अंश पनि सम्झिएको बताए, जसमा भनिएको छ, ‘मानिसले आफ्नो इतिहास आफैं बनाउँछन्, तर आफ्ना इच्छा अनुसार मात्र बनाउन सक्दैनन्, उनीहरूले आफैंले रोजेको परिस्थिति अनुसार मात्र बनाउँछन् हैन, तर प्रत्यक्ष सामना गरेका, विद्यमान र विगतबाट आएको परिस्थिति बमोजिम मात्र बनाउन सक्छन्’ भट्टराईले उल्लेख गरे। ‘नेपालको अहिलेको अवस्था पनि त्यस्तै होइन र?’ उनले प्रश्न गरेका छन्।






