Skip to main content

महिलाहरुको सुरक्षाका लागि ‘ब्लू बस’ सञ्चालन गर्ने सरकारको घोषणा

समाचार सारांश

संपादकीय रूपमा समीक्षा गरिएको।

  • सरकारले महिलाहरुको सुरक्षा सुनिश्चित गर्न सातै प्रदेशमा निःशुल्क ब्लू बस सेवा सञ्चालन गर्ने योजना अघि सारेको छ।
  • सरकारले पहिलो चरणमा १०० दिनभित्र कम्तीमा २५ वटा ब्लू बस सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ।
  • सार्वजनिक यातायातमा लैंगिक हिंसा रोक्न सबै सवारीमा सीसी क्यामेरा जडान र राइड सेयरिङ एपमा एसओएस बटन अनिवार्य गर्ने योजना बनाएको छ।

१४ चैत, काठमाडौँ । सरकारले महिलाहरुको सुरक्षाका लागि ‘ब्लू बस’ सञ्चालन गर्ने योजना सार्वजनिक गरेको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको १०० कार्यसूचीमा यो योजना पनि समावेश गरिएको छ।

‘महिलाहरुको सुरक्षित आवागमन सुनिश्चित गर्न सातै प्रदेशमा निःशुल्क ब्लू बस सेवा सञ्चालन गर्ने,’ सरकारको कार्यसूचीमा भनिएको छ, ‘पहिलो चरणमा १०० दिनभित्र कम्तीमा २५ वटा बस सञ्चालनमा ल्याइनेछ।’

त्यसैगरी सार्वजनिक यातायातमा हुने लैंगिक हिंसा रोक्न सबै सवारीमा सीसी क्यामेरा जडान गर्ने, राइड सेयरिङ एपहरुमा एसओएस बटन अनिवार्य गरी आकस्मिक तथा खतरा अवस्थाको सूचना प्रहरीलाई तुरुन्त उपलब्ध गराउने व्यवस्था ३० दिनभित्र सम्पन्न गर्ने योजना समेत सरकारले अघि सारेको छ।