
१४ चैत, गुल्मी । पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरिएको विरोधमा गुल्मीमा मसाल जुलुससहित प्रदर्शन गरिएको छ। एमालेका नेता तथा कार्यकर्ताहरू जिल्लाका विभिन्न स्थानबाट तम्घासस्थित जिल्ला प्रशासन कार्यालयसम्म मसाल जुलुस निकाल्दै सरकारले गरेको कदमको विरुद्ध नाराबाजी गरेका छन्। प्रदर्शनकारीहरूले ओलीको पक्राउलाई राजनीतिक प्रतिशोधको रुपमा व्याख्या गर्दै तुरुन्त रिहाइको माग गर्दैछन्। प्रदर्शनका क्रममा सहभागीहरूले हातमा मसाल बोकेर “लोकतन्त्रको रक्षा गर” र “राजनीतिक प्रतिशोध बन्द गर” जस्ता नारा लगाए। उनीहरूले वर्तमान सरकारले अबलम्बन गरेको नीतिले लोकतन्त्रका मूल्य र मान्यतामा ठूलो चोट पुगेको बताएका छन्। सम्भावित अप्रिय घटनाहरूलाई रोक्न सुरक्षाकर्मी पनि परिचालना गरिएको थियो।






