
मुम्बई इन्डियन्सले आईपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्सलाई ६ विकेटले पराजित गरेको छ। ओपनर खेलाडी रायन रिकेल्टनले ८१ र रोहित शर्माले ७८ रन बनाएर पहिलो विकेटमा १४८ रनको साझेदारी गरे। मुम्बईले १३ वर्षपछि पहिलो खेलको जित हासिल गरेको छ र २२१ रनको लक्ष्य ५ बल बाँकी छँदा पूरा गर्यो।
१५ चैत, काठमाडौं । ओपनरद्वय रायन रिकेल्टन र रोहित शर्माले अर्धशतकसहित शतकीय साझेदारी गरेपछि मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा उत्कृष्ट जित हासिल गरेको छ। वाङ्खेडे स्टेडियममा आइतबार साँझ भएको खेलमा मुम्बईले कोलकाता नाइट राइडर्सलाई ६ विकेटले पराजित गर्यो। कोलकाताले दिएको २२१ रनको लक्ष्य मुम्बईले ५ बल बाँकी छँदा ४ विकेट गुमाएर पूरा गर्यो। यो मुम्बईले हासिल गरेको सर्वाधिक रन चेज हो।
३००औं टी-२० खेल खेलिरहेको मुम्बईले यस खेलमा एक नयाँ कीर्तिमान बनाएको छ। रिकेल्टनले ४३ बलमा ४ चौका र ८ छक्का सहित ८१ रन जोडे भने रोहितले ३८ बलमा ६ चौका र ६ छक्का सहित ७८ रन बनाए। यी दुईले पहिलो विकेटका लागि १४८ रनको साझेदारी गरे। तिलक वर्माले १४ बलमा २० रन जोडे। कप्तान हार्दिक पान्ड्या अविजित ११ र नमन धिर अविजित ५ रन बनाउँदै मैदानमा छन्।
कोलकाताका लागि वैभव अरोरा, सुनिल नरायण र कार्तिक त्यागीले समान रूपले एक-एक विकेट लिए। रिकेल्टन रनआउट भएका थिए।
पहिले टस जितेर पहिलो ब्याटिङ गरेको कोलकताले २० ओभरमा ४ विकेट गुमाएर २२0 रन बनाएको थियो। अजिंक्य रहाणेले ४0 बलमा ३ चौका र ५ छक्का सहित ६७ रन जोडे। अंगकृष रघुवंशीले ५१ रन जोडे भने फिन एलेनले ३७ रन, र रिंकु सिंह अविजित ३३ रन बनाए।
मुम्बईका शार्दुल ठाकुरले ४ ओभरमा ३९ रन दिएर ३ विकेट लिए भने कप्तान हार्दिक पान्ड्याले १ विकेट लिए।
मुम्बईले १३ वर्षपछि आईपीएलको पहिलो खेलमा जित हासिल गरेको हो। सन् २०१३ देखि मुम्बईले सधैं पहिलो खेलमा हार भोग्दै आएको थियो।






