
नयाँ सरकार गठन भएपछि पहिलो दिन सेयर बजार ७१ अंकले घटेर नेप्से २८७९ अंकमा झरेको छ। आज बजार घट्दा कारोबार रकम १५ अर्ब ३ करोड पुगेको छ, जुन गत बिहीबारको भन्दा बढी हो। बजार घट्नुमा धरपकड र आन्दोलनले लगानीकर्ताको मानसिकतालाई प्रभाव पारेको एक ब्रोकर सञ्चालकले बताएका छन्। १५ चैत, काठमाडौं।
बालेन साहको नेतृत्वमा नयाँ सरकार गठन भएपछि खुलेको पहिलो दिनको सेयर बजार ७१ अंकले घटेको छ। सो अंक घटेसँगै नेप्से २९ सय मुनि झरेको छ। आज बजार २८७९ अंकमा कायम रह्यो। बजार खुलेपछि निरन्तर ओरालोमा रह्यो। बजार घटे पनि कारोबार रकम भने बढेको छ। गत बिहीबार १३ अर्ब १६ करोडको कारोबार भएकोमा आज १५ अर्ब ३ करोड रुपैयाँको कारोबार भयो।
९ कम्पनीको मूल्य बढ्दा २५६ कम्पनीको मूल्य घट्यो भने एउटा कम्पनीको मूल्य स्थिर रह्यो। सेयर बजारका सबै समूहगत सूचक घटेका छन्। फाइनान्स समूह सबैभन्दा बढी ३.३८ प्रतिशतले घट्यो। त्यस्तै बैंकिङ २.७८, विकास बैंक २.८९, होटल तथा पर्यटन २.२५, हाइड्रोपावर २.२१, लगानी २.९८, जीवन बीमा २.२०, उत्पादन तथा प्रशोधन १.०७, माइक्रोफाइनान्स २.११, निर्जीवन बीमा २.२३, अन्य २.५२ र व्यापार ३.०१ प्रतिशतले घटेका छन्।
६ कम्पनीको मूल्य १० प्रतिशतले बढ्यो। १० प्रतिशतले मूल्य बृद्धि भएका कम्पनीहरूमा रिलायन्स स्पिनिङ मिल्स, सुपरखुदी हाइड्रोपावर, रिजलाइन इनर्जी, सूर्यकुन्ड हाइड्रोइलेक्ट्रिक, भुजुङ हाइड्रोपावर र होटल फरेस्ट समावेश छन्। सीवाईसी नेपाल लघुवित्तको मूल्य ७.१, सोलु हाइड्रोपावरको ३.५ प्रतिशतले बढेको छ। युनिक नेपाल लघुवित्तको मूल्य ६.१७, हिमाल दोलखाको ५.४५, अभियान लघुवित्तको ५.३९, माउन्टेन हाइड्रो नेपालको ५.३७ प्रतिशतले घटेको छ।
आज थुप्रै कारोबार भएका कम्पनीहरूमा रिडी पावर, ङादी ग्रुप, सोलु हाइड्रोपावर, शिवम् सिमेन्ट र नेसनल हाइड्रोपावर कम्पनीहरू छन्। आज बजार घट्नुको कारण के हो? नयाँ सरकार बनेपछि बजारमा उत्साह थपिने आश धेरैलाई थियो। सरकारले निजी क्षेत्रमैत्री केही निर्णय पनि गरिसकेको थियो। तर, बजार घट्नुमा धरपकड र आन्दोलन एक प्रमुख कारण रहेको एक ब्रोकर सञ्चालकले बताएका छन्। उनले भने, ‘अघिल्ला दिनसम्म बढेको बजार सरकारले बनेपछि आज घट्नुपर्ने खास कारण केही थिएन, तर धरपकड र आन्दोलनले लगानीकर्ताको मानसिकतालाई नकारात्मक प्रभाव पारेको छ।’
पहिलेदेखि नै बजार एक चरणमा बढिसकेको र नाफा पनि रहेको हुनाले पछिल्लो समय धरपकड र आन्दोलन सुरु भएपछि आइतबार बिक्री दबाब बढेको उनको भनाइ छ। गत साता नेप्से ७३ अंकले बढेको थियो। एक महिनाअघि नेप्से २६७३ अंकमा थियो भने आज आइतबार बजार खुल्दा २९५० अंकमा थियो। “कतिपय लगानीकर्ताले बेच्नका लागि उपयुक्त समयको प्रतीक्षा गरिरहेका हुन्छन्। नयाँ सरकार बनेको अवसरमा सहज रूपमा ठूलो परिमाणमा सेयर बिक्री गर्न सकिने भएकाले त्यो अवसरको सदुपयोग भएको हुन सक्छ,” उनले थपे।






