Skip to main content

जीवन विकास र युनिक नेपाल लघुवित्तबीच मर्जर सम्झौता सम्पन्न

१६ चैत, विराटनगर। जीवन विकास लघुवित्त वित्तीय संस्था र युनिक नेपाल लघुवित्त वित्तीय संस्थाबीच मर्जर सम्झौता सम्पन्न भएको छ। मोरङको कटहरीमा केन्द्रीय कार्यालय रहेको जीवन विकास र बाँकेको कोहलपुरमा केन्द्रीय कार्यालय रहेको युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडबीच शनिबार एक आपसी गाभिने (मर्जर) सम्झौता गरिएको हो। सम्झौतापत्रमा जीवन विकास लघुवित्तका अध्यक्ष विक्रमराज सुवेदी र युनिक नेपालका अध्यक्ष शिवबहादुर चौधरीले हस्ताक्षर गरेका छन्।

मोरङको कटहरी गाउँपालिका–२ मा केन्द्रीय कार्यालय रहेको जीवन विकासले १६० शाखा कार्यालयमार्फत कोशी, मधेश र बागमती प्रदेशका ३१ जिल्लाका ३ लाख १५ हजारभन्दा बढी सदस्यलाई घरदैलोमा गएर लघुवित्त सेवा प्रवाह गरिरहेको छ। बाँके जिल्लाको कोहलपुर नगरपालिका–११ मा केन्द्रीय कार्यालय रहेको युनिक नेपाल लघुवित्त पश्चिम नेपालको १० जिल्लामा ८० हजारभन्दा बढी सदस्यलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ। मर्जरपछि सेवा क्षेत्र पूर्वी नेपालको झापादेखि पश्चिम नेपालको कन्चनपुरसम्म फैलिनेछ।

युनिक नेपालले बाँके, बर्दिया, कैलाली, कन्चनपुर, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, सुर्खेत र डडेलधुरामा ४१ शाखा कार्यालयबाट लघुवित्त सेवा प्रदान गरिरहेको छ। मर्जर पश्चात संस्थाको पुँजीगत आधार र सेवा क्षेत्र थप सुदृढ हुनेछ। मर्जर प्रक्रिया अघि बढेसँगै नेपाल धितोपत्र बोर्डको व्यवस्था अनुसार दुवै संस्थाका आधारभूत शेयर कारोबार रोक्का गरिएको छ। आगामी साधारण सभा सम्पन्न नभएसम्म ती शेयरधनीहरूको शेयर कारोबार रोक्का रहने जानकारी गराइएको छ।