
१६ चैत, काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले जिल्ला सभापतिहरूको भेला आह्वान गरेका छन् । १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति बैठकको तयारीमा रहेका खड्काले विशेष महाधिवेशनको पक्षमा नउभिएका जिल्ला सभापतिहरूको भेला बोलाएका हुन् । उनकै नजिकका स्रोतले जिल्ला सभापतिहरूको भेला १९ चैतमा आयोजना गरिने जानकारी दिएका छन् ।
पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि कार्यवाहक सभापतिको हैसियतमा जारी वक्तव्यका क्रममा खड्काले १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति बैठक पनि बोलाएका छन् । उक्त बैठक धुम्बाराहीस्थित स्मार्ट पार्टी प्यालेसमा मंगलबार बिहान ११ बजेदेखि सुरु हुनेछ । बैठक दुई दिनसम्म चल्ने जानकारी तत्कालीन एक केन्द्रीय सदस्यले दिएका छन् ।
ती नेताका अनुसार बैठकमा विशेष महाधिवेशनलाई स्वीकार नगरेका प्रदेश कार्यसमिति सभापतिहरूलाई पनि बोलाइएको छ । गत पुस अन्त्यमा सम्पन्न विशेष महाधिवेशनमा कोशी प्रदेश सभापति उद्दव थापा, मधेश प्रदेश सभापति कृष्ण यादव, बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, कर्णाली प्रदेश सभापति ललितजंग शाही र सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायर सहभागी भएका थिएनन् । उनीहरू मध्ये थापा, यादव र बानियाँ प्रतिनिधिसभा निर्वाचनपछि बसेको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठकमा सहभागी भएका थिए ।






