
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानको तेल नियन्त्रणमा लिन सक्ने र सम्भवत: त्यहाँको मुख्य इन्धन केन्द्र खार्ग टापु कब्जा गर्न सक्ने बताएका छन्। “साँचो भन्नुपर्दा, मेरो मन पर्ने कुरा भनेको इरानबाट तेल लिनु हो तर अमेरिकामा रहेका केही मूर्खहरुले ‘तपाईं किन त्यसो गर्दै हुनुहुन्छ?’ भन्छन् तर ती मूर्ख मानिसहरू हुन्,” फाइनान्सियल टाइम्ससँगको अन्तर्वार्तामा उनले बताए। ट्रम्पका अनुसार यस कदमको अर्थ खार्ग टापु कब्जा गर्ने हुन सक्छ। उनले भने, “हामी खार्ग टापु नियन्त्रणमा लिन सक्छौं, नलिन पनि सक्छौं। हामीसँग धेरै विकल्पहरू छन्।”
“यसको अर्थ केही समयका लागि हामी त्यहाँ रहनुपर्ने अवस्था पनि हुन सक्छ।” खार्ग टापु इरानी तटबाट १५ नौटिकल माइल (२४ किलोमिटर) टाढा रहेको सानो चट्टानी क्षेत्र हो। सानो भएता पनि यो इरानको ऊर्जा पूर्वाधारको सबैभन्दा महत्त्वपूर्ण भागमध्ये एक हो। इरानको तेल निर्यातको एक महत्वपूर्ण केन्द्रका रूपमा रहेको यो टापुलाई तेहरानको अर्थतन्त्रको जिवनरेखा मानिन्छ।
ट्रम्पले इरानमा अमेरिकाले मान्ने अनुसार सत्ता परिवर्तन भएको दाबी गरेका छन्। हालै ‘एअरफोर्स वन’ मा बोल्दै उनले गतसाता फक्स न्यूजसँगको टिप्पणी दोहोर्याउँदै भने, “उनीहरू (इरानी नेतृत्व) मारिएका कारण त्यहाँ साँच्चिकै सत्ता परिवर्तन भएको भन्न सकिन्छ।” विमानमा संवाददाताहरूसँग बोल्दै उनले भने, “तपाईंले हेर्नुभयो भने हामीले त्यहाँ सत्ता परिवर्तन गरिसकेका छौं, किनभने एउटा शासनलाई हामीले नष्ट गर्यौं, ध्वस्त पार्यौं, ती सबै मारिए। दोस्रो सत्ता पनि लगभग समाप्त भएको छ।”
“अहिले हामी सम्पर्क गरेका तेस्रो सत्ताका मानिसहरू पहिलेका भन्दा पूरै फरक छन्। त्यसैले म यसलाई सत्ता परिवर्तन मान्छु र साँच्चिकै भन्नुपर्दा तिनीहरू धेरै व्यावहारिक पनि छन्।” “त्यसैले मेरो विचारमा सत्ता परिवर्तन भएको छ। यसलाई अझ राम्रो बनाउन सकिँदैनथ्यो,” उनले भने। ट्रम्पले इरान सम्भवत: अमेरिकासँग सम्झौता गर्नसक्ने आशा पनि व्यक्त गरेका छन्। “तिनीहरूसँग हाम्रो सम्झौता हुन सक्छ तर हामी त्यो नगर्न पनि सक्छौं,” उनले भने।
“इरान मामिलामा केही भन्न सकिँदैन। हामी उनीहरूसँग कुराकानी पनि गर्छौं, त्यसपछि फेरि नष्ट गर्नुपर्ने पनि हुन सक्छ,” उनले थपे। यी घटनाक्रमका बीचमा इरानले विश्वविद्यालयहरू र अमेरिकी तथा इजरायली अधिकारीहरूको आवासमा जबाबी आक्रमण गर्नसक्ने चेतावनी दिएको रिपोर्टहरू आएका छन्। पाकिस्तानका विदेशमन्त्रीले शान्ति वार्ता आयोजना गर्न तयारीमा रहेको बताएका छन् तर अमेरिका वा इरानले त्यसको भाग लिने स्पष्ट छैन।






