तीन नयाँ हुलाक टिकटहरूको विमोचन, सञ्चारमन्त्रीको अभिव्यक्ति- स्मार्ट हुलाक युगको शुरुआत

हुलाक सेवा विभागले पुरातात्विक र ऐतिहासिक महत्व बोकेको तीन नयाँ हुलाक टिकटहरू सार्वजनिक गरेको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री डा। बिक्रम तिमिल्सिनाले ती हुलाक टिकटहरूको प्रथम दिवसीय आवरणमा टाँचा लगाएका छन्। मन्त्री तिमिल्सिनाले हुलाक सेवा समयानुकूल र प्रभावकारी बनाउन तथा स्मार्ट हुलाक विकासलाई तीव्रता दिन आग्रह गर्नुभएको छ। १६ चैत, काठमाडौं।
हुलाक सेवा विभागले जावा दाम (मुद्रा), धुरकोट दरबार गुल्मी, र नृसिंह अवतार नाच (कार्तिक नाच) चित्रांकित हुलाक टिकटहरू सार्वजनिक गरेको हो। सोमबार विभागको कार्यालय बबरमहलमा आयोजित कार्यक्रममा मन्त्री डा। तिमिल्सिनाले ती तीनै हुलाक टिकटहरूको प्रथम दिवसीय आवरणमा टाँचा लगाएका थिए। उनले भने, “देशको ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्पदाको संरक्षण गर्दै राष्ट्रिय पहिचानलाई जोगाउन हुलाक टिकटले महत्वपूर्ण भूमिका निभाउनेछ।”
मन्त्रीले हुलाक सेवालाई नागरिकसँग अझ नजिक पुर्याउन र सार्वजनिक सेवा अझ सुदृढ बनाउन आवश्यक रहेको बताए। उनले सरकारको सयबुँदे मार्गचित्रअनुसार कामको गति तीव्र बनाउन विभागलाई नयाँ कार्ययोजना तयार गर्न निर्देशन दिए। साथै, जनतामा सकारात्मक आशा जगाउने कार्य थालनी गर्न आग्रह गरे। मन्त्रीले हुलाक सेवा समयसापेक्ष प्रभावकारी बनाउँदै स्मार्ट हुलाक विकासलाई प्राथमिकता दिन जोड दिए।
मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेतले हुलाक टिकटमार्फत मुलुकका पुरातात्विक तथा ऐतिहासिक सम्पदाहरूको संरक्षण र प्रवर्द्धनमा सहयोग पुग्ने बताइन्। हुलाक सेवा विभागकी महानिर्देशक मनमाया पँगेनी भट्टराईले हुलाक टिकटलाई अन्तर्राष्ट्रिय स्तरमा बोल्ने राजदूतको रूपमा महत्वपुर्ण भूमिका रहने उल्लेख गर्दै, इतिहास, धर्म तथा संस्कृतिको संरक्षण गर्ने उद्धेश्यले विभागले निरन्तर हुलाक टिकट प्रकाशन गरिरहेको जानकारी गराइन्। कार्यक्रममा सञ्चारमन्त्री डा। तिमिल्सिनालाई विभागतर्फबाट स्वागत गर्दै विभागका गतिविधिहरूको विवरण पनि प्रदान गरिएको थियो।






