Skip to main content

रास्वपाले मन्त्रालयमा बधाई तथा शुभकामना दिन भिडभाड नगर्न आग्रह गर्‍यो

रास्वपाले प्रधानमन्त्री तथा मन्त्रीहरूलाई बधाई तथा शुभकामना दिन मन्त्रालयहरूमा भिडभाड नगर्न पार्टीका नेता तथा शुभेच्छुकहरूलाई आग्रह गरेको छ। रास्वपा केन्द्रीय अनुशासन आयोगका कार्यवाहक प्रमुख रमाकान्त रिमालले अनावश्यक भेटघाटले सरकारको कार्यसम्पादनमा अवरोध उत्पन्न हुन सक्ने भन्दै यस्तो आग्रह गरेका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘सरकारको कार्य प्रणालीमा प्रभाव पर्ने र द्रुत सेवा प्रवाहमा समस्या आउन सक्ने भएकाले यस्तो कार्य नगर्न निर्देशन जारी गरिएको छ।’ १६ चैत, काठमाडौं। पार्टीका नेतागण, सदस्य र शुभेच्छुकहरूले मन्त्रालयहरूमा गई नवनियुक्त प्रधानमन्त्री तथा मन्त्रीहरूलाई बधाई र शुभकामना दिँदा अनावश्यक भेटघाट, खादा तथा फुलमाला लगाउने, फोटो खिच्ने जस्ता कार्यहरू पार्टी अनुशासन विपरीत र विवादास्पद देखिन थालेका छन्।

यसैले केन्द्रीय अनुशासन आयोगले यस्ता कार्यहरू नगर्न आग्रह गरेको हो। ‘नागरिक सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै प्रभावकारी कार्यसम्पादन गर्नुपर्ने समय रहेको यो यथार्थलाई ध्यानमा राख्दै, प्रधानमन्त्री तथा मन्त्रीहरूलाई बधाई तथा शुभकामना दिन मन्त्रालयमा अनावश्यक भेटघाट, जमघट र भिडभाड गरे सरकारको कार्यसम्पादनमा ढिलाइ हुनेछ, कार्य गुणस्तर प्रभावित हुनेछ र समग्र सरकारको प्रणालीमा असर पुग्ने भएकाले यस्तो कार्य नगर्न सबै पार्टी पदाधिकारी र सदस्यहरूलाई कडा निर्देशन जारी गरिएको छ,’ विज्ञप्तिमा उल्लेख छ।