
यमनका इरान समर्थित हुथी समूहले एक महिना अघि इजरायल र अमेरिकाले तेहरानविरुद्ध सुरु गरेको युद्धमा पहिलो पटक इजरायलमाथि आक्रमण गरेको पुष्टि गरेका छन्। उक्त समूहले “संवेदनशील इजरायली सैन्य क्षेत्रहरूलाई लक्षित गर्दै” बलिस्टिक क्षेप्यास्त्रहरू प्रहार गरेको उल्लेख गरेको छ। उनीहरूले इजरायलले इरान, लेबनन, इराक र प्यालेस्टिनी क्षेत्रमा गरिरहेको आक्रमणको प्रत्युत्तरमा यो कदम उठाएको बताएका छन्। यस समूहले भनेको छ कि सबै मोर्चामा आक्रमण बन्द नभएसम्म उनीहरूको कारबाही चलिरहनेछ। यसअघि इजरायल डिफेन्स फोर्सेजले यमनबाट प्रहार गरिएका क्षेप्यास्त्रहरूको सफल प्रतिरोध गरेको जनाइएको थियो।
जेरुसलेमस्थित मध्यपूर्व ब्यूरो प्रमुख जो फ्लोटोका अनुसार, यमनको हुथी समूहले केही सातादेखि इरानप्रति समर्थन व्यक्त गर्दै आएकोले यसको युद्धमा सहभागिता अपेक्षित नै थियो। इरानले हुथी समूहलाई सैन्य, आर्थिक तथा राजनीतिक समर्थन प्रदान गर्दै आएको छ। गत रात टेलिभिजन सम्बोधन गर्दै हुथी सेनाका प्रवक्ता याह्या सारीले सैन्य हस्तक्षेपका लागि आफ्ना योधाहरू तयार रहेको बताएका थिए। शनिबार बिहान यमनबाट क्षेप्यास्त्र प्रहार गरिएको जनाउँदै इजरायली सेनाले जानकारी दिएको छ।
हुथीको हस्तक्षेपपछि अरेबियन प्रायद्वीपमा युद्धको नयाँ मोर्चा खुल्न सक्ने चिन्ता बढेको छ। फ्लोटोका अनुसार मुख्य चिन्ता ‘रेड सि’को पानीजहाज आवतजावत हुने जलमार्गमा आक्रमणको सम्भावना हो। अक्टोबर ७ मा इजरायलमा भएको हमलापछि हुथीले उक्त जलमार्गमा आक्रमण गरिसकेको छ। च्याटम हाउसकी शोधकर्ता फारेया अल-मुस्लिमीले हुथीहरू ‘रेड सि’ जस्तो “अर्को अत्यन्त महत्वपूर्ण अन्तर्राष्ट्रिय व्यापारिक जलमार्गको मुखमै” अवस्थित भएकाले तिनीहरूको नयाँ सहभागिता युद्धका लागि निक्कै महत्वपूर्ण भएको बताइन्।
बीबीसी कूटनीतिज्ञ संवाददाता पल एडम्सका अनुसार, यदि हुथीहरूले पुनः आक्रमण सुरु गरेमा इजरायलको लागि गम्भीर समस्या हुनेछ। सन् २०२३ को अक्टोबर मध्यतिर गाजा युद्ध सुरु भएपछि हुथी समूहले इजरायलमाथि क्षेप्यास्त्र आक्रमण गर्ने गरेका छन्। यदि हुथीहरूले ‘रेड सि’मा पानीजहाजमाथि आक्रमण गरे भने यसको प्रभाव नाटकीय हुनसक्ने एडम्स बताउँछन्। हाल स्ट्रेट अफ होर्मुज मार्गको अवरोध हुँदा साउदी अरेबिया दैनिक रूपमा ४० लाख ब्यारेल तेल रेड सि तटस्थित यान्बुससम्म पाइपलाइनमार्फत पठाइरहेको छ।






