
लुम्बिनी प्रदेश सरकारले मुख्यमन्त्री चेतनारायण आचार्यलाई प्रदेश तथ्यांक व्यवस्थापन सूचना प्रणाली हस्तान्तरण गरेको छ। मुख्यमन्त्री आचार्यले तथ्यांकमा आधारित नीति निर्माण र निर्णय प्रक्रियामा यो प्रणालीले महत्वपूर्ण योगदान पुर्याउने बताए। यस प्रणालीमा १ हजार १ सय ९६ तथ्यांक चरहरू, ३४ क्षेत्र विकास, र १ सय ६४ सूचकहरू समावेश छन् भने प्रदेशका १०९ पालिकाले यसमा पहुँच पाउनेछन्।
१६ चैत, बुटवल। लुम्बिनी प्रदेश सरकारलाई प्रदेश तथ्यांक व्यवस्थापन सूचना प्रणाली हस्तान्तरण गरिएको छ। प्रदेश योजना आयोगको तर्फबाट मुख्यमन्त्री चेतनारायण आचार्यलाई सो प्रणाली हस्तान्तरण गरिएको हो। एक समारोहका बीच मुख्यमन्त्री आचार्यले उक्त सूचना प्रणाली सोमबार उद्घाटन गरेका छन्। उनले तथ्यांकमा आधारित नीति निर्माण र निर्णय प्रक्रियालाई प्रभावकारी बनाउन यो प्रणालीले महत्वपूर्ण भूमिका खेल्ने बताए।
मुख्यमन्त्री आचार्यले तीन तहका सरकारले सम्पन्न गरेका कामहरूको विवरण सरकार र नागरिकहरूलाई उपलब्ध गराउनुपर्ने आवश्यकतामा जोड दिंदै, प्रदेश सरकारले पारदर्शिता अभिवृद्धि गर्न विभिन्न पहलहरू गरिरहेको बताए। उनले प्रणालीको नियमित अद्यावधिक र सञ्चालनका लागि प्रदेश सूचना प्रविधि प्रतिष्ठानलाई जिम्मेवारी दिएको कुरा पनि उल्लेख गरे। प्रदेश योजना आयोगका उपाध्यक्ष डा. डिल्लीराज अर्यालले सुशासन प्रवर्द्धन, प्रभावकारी सेवा प्रवाह र जवाफदेहितालाई मुख्य प्राथमिकतामा राखेर प्रणाली निर्माण गरिएको जानकारी दिए।






