इरानले स्ट्रेट अफ होर्मुज हुँदै आउने विदेशी जहाजबाट शुल्क लिन निर्णय, क्षेत्रीय तनाव बढ्ने संकेत

१७ चैत, काठमाडौं। इरानी संसदको सुरक्षा समितिले विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्ग स्ट्रेट अफ होर्मुज हुँदै आवतजावत गर्ने जहाज र तेल ट्यांकरहरूबाट ‘टोल’ (पारगमन शुल्क) असुल्ने योजना स्वीकृत गरेको छ। इरानी सरकारी सञ्चारमाध्यम इस्लामिक रिपब्लिक अफ इरान ब्रॉडकास्टिङ (आई.आर.आई.बी.)का अनुसार, यो योजनामा उक्त रणनीतिक जलमार्गबाट आवतजावत गर्ने सबै जहाजहरूबाट शुल्क उठाउने व्यवस्था गरिएको छ। योजना अनुसार अमेरिकी र इजरायली जहाजहरूलाई भने पूर्ण प्रतिबन्ध लगाइने प्रावधान समेत छ।
संसदीय समितिबाट पारित नियमले अब स्ट्रेट अफ होर्मुज समुद्री मार्ग हुँदै गुज्रने अन्तर्राष्ट्रिय जहाजहरूले शुल्क तिर्नुपर्ने बाटो खोल्नेछ। इरानले यस कदमलाई आफ्नो सार्वभौमिकता सुदृढ पार्ने, सुरक्षा व्यवस्थापन खर्च उठाउने र नयाँ राजस्व स्रोत सिर्जना गर्ने उद्देश्यले उठाएको जनाएको छ। हाल स्ट्रेट अफ होर्मुजलाई अन्तर्राष्ट्रिय जलमार्गको रूपमा मान्यता दिइएको छ जहाँ सबै देशका जहाजहरूलाई स्वतन्त्र आवतजावतको अधिकार छ।
विश्लेषकहरूले भनेका छन् कि इरानको यो निर्णय अन्तर्राष्ट्रिय समुद्री कानुनसँग बाझिन सक्ने सम्भावना छ। अमेरिका लगायत खाडीका देशहरूले यस निर्णयको कडा विरोध गर्ने सम्भावना छ। यसले अन्तर्राष्ट्रिय नौवहन स्वतन्त्रतामा प्रश्न उठाउने मात्र नभई विश्व बजारमा तेलको मूल्यमा समेत थप उतारचढाव ल्याउन सक्ने अनुमान गरिएको छ।
इरानले होर्मुज क्षेत्रमा सुरक्षा सुनिश्चित गर्ने जिम्मेवारी आफूले निर्वाह गरिरहेको दाबी गर्दै, त्यसको बदलामा शुल्क लिनु उचित हुने तर्क दिएको छ। यसलाई इरानले होर्मुज स्ट्रेटमाथि आफ्नो नियन्त्रण र प्रभावलाई कानुनी रूपमा स्थापन गर्ने प्रयासको रूपमा हेरिएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार, प्रस्तावले इरानको सार्वभौमिकता, नियन्त्रण र निगरानीलाई औपचारिक रूपमा सुनिश्चित गर्दै राजस्वको नयाँ स्रोत सिर्जना गर्ने लक्ष्य राखेको छ। इरानी सांसद मोहम्मद रेजाको भनाइ उद्धृत गर्दै रिपोर्टहरूमा उल्लेख छ कि अन्य अन्तर्राष्ट्रिय मार्गहरूमा जस्तै होर्मुज स्ट्रेटबाट आवतजावत गर्ने जहाजहरूबाट शुल्क लिनु स्वाभाविक भएको तर्क गरिएको छ।






