Skip to main content

‘चुनाव जितेपछि शहरमै हराउँछन् भन्ने गुनासो चिर्छु, जेनजी भावना बोकेको छु’

२६ वर्षको उमेरमा मनिष खनाल नवलपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन्। खनालले भदौ २३ र २४ को जेनजी विद्रोहमा सक्रिय भूमिका खेल्दै १० बुँदे सम्झौताको मस्यौदाकारको काम गरेका थिए। उनले आफ्नो क्षेत्रको समृद्धिका लागि नीति तथा कानुनी तहबाट समस्या समाधान गर्ने योजना बनाएका छन्। २६ वर्षको उमेरमा प्रतिनिधिसभा सदस्य बन्ने सपना पूरा हुन्छ भन्ने सोच मनिष खनालले कहिल्यै देखेका थिएनन्। उनी आफूलाई सडककै एक योद्धा सम्झन्थे। सोहीअनुसार विभिन्न सामाजिक आन्दोलनमा संलग्न हुन्थे, जसरी भदौ २३ र २४ गतेको आन्दोलनमा सक्रिय भूमिका खेले। आन्दोलनका दस्तावेजीकरण गर्ने काममा खटिएका थिए। ‘कुनै दिन चुनाव लडिन्छ, कुनै दिन सांसद भइन्छ वा नवलपुर क्षेत्र नम्बर २ लाई प्रतिनिधित्व गर्छु भन्ने चाहिँ थियो,’ उनी भन्छन्, ‘तर यति छिट्टै हुन्छ भन्ने मैले सोचेको थिइनँ।’

भदौ २३ र २४ गतेको जेनजी विद्रोहले नेपालको राजनीतिक परिदृश्य नै परिवर्तन गरेपछि त्यही विद्रोहको भूमिकामा रहेको निर्वाचनमा नवलपुर क्षेत्र नम्बर २ बाट प्रतिस्पर्धा गरे। २६ वर्षीय मनिष खनाल ठूलो मतान्तरले जित हासिल गरे। खनालले ४१ हजार ३४७ मत ल्याएर विजयी हुँदा नेकपा एमालेका तिलबहादुर महत क्षेत्रीले जम्मा १५ हजार ७५५ मत पाएर दोस्रो भए। तेस्रो बनेका नेपाली कांग्रेसका ओमबहादुर घर्तीले १४ हजार ७१३ मत पाए। सामान्य परिवारमा जन्मेका खनाल सामुदायिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेर काठमाडौं आएका थिए। नेपाल ल क्याम्पसबाट स्नातक गरेका उनी अधिवक्ता पनि हुन्। विवेकशील नेपाली अभियानबाट राजनीतिक यात्रा सुरु गरेका खनालले मेडिकल शिक्षा सुधार, निर्मला पन्तको न्याय, ललिता निवास जग्गा काण्ड र लोकमान सिंह प्रकरण जस्ता विभिन्न सामाजिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका छन्।

२० वर्षको उमेरमा विवेकशील नेपाली दलको केन्द्रीय सदस्य बन्न सफल उनी पछि राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेर तत्कालीन सांसद असिम शाहको सचिवालय प्रमुखको जिम्मेवारी सम्हाले। केही समय युवा तथा खेलकुद मन्त्रालयको नीति तथा कानुन विभागमा पनि काम गरे। भदौ २३ र २४ को जेनजी विद्रोहमा सक्रिय सहभागी खनाल १० बुँदे सम्झौताको मस्यौदाकारमध्येका एक हुन्। सरकार र जेनजीबीच भएको सम्झौताको ड्राफ्टमा भूमिका खेलेका उनले त्यसपछि अब सडकबाट सदनमा युवा आवाज उठाउनुपर्ने दायित्व बोध गरे। ‘विद्रोहको मर्मलाई संस्थागत गर्न कोही अगाडि आउनुपर्छ भन्ने आवाज थियो। विकल्प खोज्ने कि आफैं विकल्प बन्ने? त्यसैले म आफैं नवलपुर क्षेत्र नम्बर २ को लागि योग्य युवा उम्मेदवार हुन सक्छु भन्ने सोचेर अगाडि आएँ,’ उनले भने।

सडकको आवाज सदनमा पुर्याउने नै उनको मुख्य उद्देश्य थियो। तर, सानै उमेर भएकाले चुनावमा विभिन्न शंका–उपशंका थिए। चुनावी अभियानका क्रममा उमेरले कलिलो भएको टिप्पणी धेरैले गरे। कतिपयले विश्वास गर्न समेत सन्देह गरे। नेता भनेको ‘कपाल फुलेको’ र ‘ठूलो शरीर’ भएको हुनुपर्छ भन्ने धारणा सुरुवाती दिन कठिन बनायो। तर घरदैलो, मिडिया र प्रत्यक्ष भेटघाटमा आफ्ना विचार र योग्यता प्रस्तुत गर्दा मतदाताले ‘उमेर होइन, विचार, क्षमता र अनुभव’लाई प्राथमिकता दिएको खनालले अनुभव गरे। कानुनको ज्ञान, संसदीय सचिवालयको अनुभव र विद्रोहमा खेलेको भूमिकाले उनलाई बलियो आधार प्रदान गर्यो।

त्यसैसँगै नवलपुर क्षेत्र नम्बर २ को भूगोलमा विविधता छ। उत्तरमा पहाडी भेग पर्दछ भने दक्षिणमा समथर तराई र भित्री मधेश छ। खनालले आफ्नो क्षेत्रलाई ‘तीन तले जिल्ला’ भनेर चिनाउन रुचाउँछन्। उत्तरमा मगर र गुरुङ समुदायको बस्ती छ, जहाँ अदुवा, सुन्तला जस्ता कृषि उत्पादनले राम्रो बजार पाउनसक्ने अपेक्षा छ। हुप्सेकोट गाउँपालिकाको धौबादी फलाम खानीबाट उत्पादन सुरु हुनुपर्ने पुरानो माग पनि छ।

दक्षिणी भेगमा नारायणी नदी कटान, मानव–वन्यजन्तु द्वन्द्व र मध्यवर्ती क्षेत्रको प्रशासनिक झन्झट मुख्य समस्या हुन्। चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको क्षेत्रमा गैंडा र बाघको आक्रमणले किसानको बालीनाली नष्ट हुने र क्षतिपूर्ति प्रक्रिया झन्झटिलो तथा अपर्याप्त हुने गरेको छ। चुनावकै बेला तीन जनालाई गैंडा आक्रमण गरेको खनालले सम्झिए। मध्यवर्ती क्षेत्र भएकै कारण सेवा सुविधामा कमी र प्रशासनिक झन्झटले स्थानीयहरू हैरान छन्। बेरोजगारी, सुकुमवासी समस्या र न्यूनतम ज्यालाका लागि विदेश जानुपर्ने बाध्यता आम मतदाताको साझा पीडा हो।

खनालका अनुसार युवाहरूको अपेक्षा पनि स्पष्ट छ। अधिकांश युवा वैदेशिक रोजगारीमा छन्। स्वदेशमै न्यूनतम ज्यालाको काम पाइयो भने विदेश जान नपर्ने उनीहरूको चाहना छ। नारायणी किनारमा होमस्टे सञ्चालन गरेर पर्यटनबाट आम्दानी गर्न सकिने, त्रिवेणी धामलाई देवघाटसम्म जोडेर पर्यटकीय हब बनाउन सकिने र गैंडा देखाएर चितवन जस्तै नवलपुर पनि समृद्ध बन्नसक्ने युवाहरूको सोच छ। ‘गैंडा देखाएर चितवन समृद्ध हुँदैछ भने हामी किन तर्सिने? हामी पनि गैंडा देखाएर आम्दानी गर्न सक्छौं,’ युवाहरूको भनाइ उद्धृत गर्दै खनाल भन्छन्। यसमा आफूले सकेको काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

यी सबै कामका लागि खनालले चुनावी नारा नै बनाएका थिए– नीतिबाट विधि र विधिबाट समृद्धि। उनले विधायकी भूमिकालाई क्षेत्रको समृद्धिसँग जोड्न चाहन्छन्। मध्यवर्ती क्षेत्रको समस्या समाधान, बाटोघाटो निर्माण, नदी कटान नियन्त्रण जस्ता मुद्दामा नीति तथा कानुनी तहबाटै समाधान खोज्ने योजना छ। सरकारको सय दिने कार्ययोजना र जेनजीसँग भएको १० बुँदे सम्झौताका मर्मलाई कार्यान्वयन गर्न सदनमा खबरदारी र सहयोग दुवै गर्ने प्रतिबद्धता देखाएका छन्।

जेनजी आन्दोलनका अगुवामध्ये एक भएकाले आफूले युवा भावना बोकेर संसदमा उभिने बताएका छन्। ‘आजको युवाले लामो भाषण होइन, डेलिभरी खोजेको छ। तोकिएको समयमा तोकिएको काम हुनुपर्छ भन्ने युवाको माग छ। रिल्स युगका युवालाई छोटो, छरितो तर प्रभावकारी परिणामको अपेक्षा छ,’ खनालले भने, ‘जितेर काठमाडौँ गएपछि मतदाताको गुनासो चिर्ने लक्ष्य छ।’