काठमाडौं महानगरले १० वटा वडामा भूमि प्रशासन सेवा केन्द्र सञ्चालन गर्ने निर्णय गर्यो

काठमाडौं महानगरपालिकाले ३२ वडामध्ये १० वडाबाट भूमि प्रशासन सेवा केन्द्र सञ्चालन गर्ने निर्णय गरेको छ। पहिलो चरणमा वडा नं ३, ४, ६, १०, १४, १५, १६, २३, २६ र ३१ मा सेवा सञ्चालन गर्ने तयारी गरिएको छ। भूमिको स्वामित्व, रोक्का फुकुवा सिफारिस, कर राजस्व सेवा वडाबाटै उपलब्ध गराइनेछ। १७ चैत, काठमाडौं।
काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलका अनुसार नमूनाका रुपमा १० वटा वडाबाट भूमि प्रशासन सेवा सञ्चालन गर्न लागिएको हो। उनले भनिन्, “त्यसका लागि कामपाले चावहिल, डिल्लीबजार र कलंकी मालपोत कार्यालयसँग सहकार्य गर्नेछ।” यसअघि चार किल्ला सिफारिस, घरबाटो सिफारिस जस्ता सेवा दिँदै आएकामा अब वडाबाटै भूमि प्रशासन सेवा सुरु गर्न लागिएको छ।
भूमिको स्वामित्व तथा हकसम्बन्धी सेवा, लेखापढी, स्रेस्ता तथा अभिलेख व्यवस्थापन, रोक्का तथा फुकुवा सिफारिस, कर तथा राजस्वसम्बन्धी सेवा कार्यक्रम वडाबाटै प्राप्त हुनेछन्। डंगोलले थपिन्, “नागरिक परामर्श तथा गुनासो सहजीकरण, सेवाग्राहीबाट लिनुपर्ने राजस्व वडा कार्यालयबाट लिने व्यवस्था, सेवाग्राहीको पहिचान सुनिश्चित गर्न बायोमेट्रिक विवरण सङ्कलन गर्ने व्यवस्था, बैंकमा रोक्का राख्ने वा फुकुवा गर्ने प्रक्रियामा सिफारिस र अभिलेख व्यवस्थापन पनि वडाबाटै हुनेछ।”
कामपाको ४७औं कार्यपालिका बैठकले नमुना कार्यक्रमका रुपमा १० वटा वडाबाट भूप्रशासन सेवा प्रारम्भ गर्ने निर्णय गरेको थियो। सोही अनुरूप अहिले कार्यान्वयन गर्न लागिएको हो।






