Skip to main content

पूर्णबहादुर खड्काले समानुपातिक उम्मेदवार हटाइए, अदालत पुग्ने तयारीमा छौँ

नेता पूर्णबहादुर खड्काले नेपाली कांग्रेसको समानुपातिक सांसद छनोटमा नियमविपरीत काम भएको दाबी गरेका छन्। खड्काले दलित कोटाबाट समानुपातिक सूचीमा परेका मानबहादुर नेपाली पनि अदालत गएका छन् भनेर जानकारी दिएका छन्। विशेष महाधिवेशनपछि कांग्रेस भित्रको द्वन्द्व बढेको र पार्टी प्रवक्ता देवराज चालिसेले चेतावनी दिएका छन्। १७ चैत, काठमाडौं।

नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टीको संस्थापन समूहले नियमविपरीत काम गरेको ब्रिफिङ गरेका छन्। काठमाडौंको धुम्बाराहीस्थित होटल स्मार्टमा आफ्ना समूहका नेताहरूलाई सम्बोधन गर्दै उनले समानुपातिक सांसद छनोटमा नियमविपरीत काम भएको बताएका छन्। ‘विशेष महाधिवेशनले नियम उलङ्घना गर्‍यो। समानुपातिकमा पिछडिएको क्षेत्रबाट प्रथम नम्बरमा रहेकी विद्या तिमिल्सिनाको नाम हटाएर कलस्टरमै नाम नभएको पुरुष खस आर्य कोटा को ७ नम्बरमा रहेको कालीबहादुर सहकारीलाई राखियो,’ उनले बैठकमा भने, ‘हाम्रा उम्मेदवारहरू अदालत गएका छन्।’

खड्काले दलित कोटाबाट समानुपातिक सूचीमा परेका उम्मेदवार मानबहादुर नेपाली पनि अदालत गइसकेको जानकारी दिएका छन्। ‘दलित कोटाबाट मानबहादुर नेपाली पनि अदालत जानुभएको छ,’ खड्काले बैठकमा भने। पार्टीका तत्कालीन महामन्त्रीहरू गगनकुमार थापा र विश्वप्रकाश शर्मासहितको समूहले गत माघ १ गते विशेष महाधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्व चयन गरेपछि कांग्रेस भित्रको द्वन्द्व बढेको छ। अहिले विशेष पक्षविरुद्ध कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला समूह एकढिक्का भएका छन्। उनीहरूले लगातार संयुक्त छलफल गरिरहेका छन्। उता पार्टी केन्द्रीय प्रवक्ता देवराज चालिसेले यस छुट्टै समूहलाई पार्टी अनुशासन सम्झाउँदै चेतावनी दिएका छन्।