
१७ चैत, काठमाडौं । हवाई इन्धनको मूल्य झण्डै दोब्बरले बढाइएको छ। नेपाल आयल निगमले मंगलबार गरेको नयाँ मूल्य समायोजन अनुसार आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै उडानका लागि हवाई इन्धनको मूल्य दोब्बर पुगेको छ। निगमले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा आन्तरिक उडानको हवाई इन्धनको मूल्य पहिले प्रतिलिटर १२७ रुपैयाँबाट बढाएर २५१ रुपैयाँ प्रतिलिटर कायम गरिएको जनाइएको छ।
त्यस्तै, अन्तर्राष्ट्रिय उडानका लागि काठमाडौंमा प्रति किलोलिटर ९६६ अमेरिकी डलर रहेको इन्धनको नयाँ मूल्य समायोजन पश्चात वृद्धि भएर १,७८५ अमेरिकी डलर पुगेको छ। त्यस्तै, पोखरामा पहिले प्रति किलोलिटर ८०१ अमेरिकी डलर रहेको इन्धनको मूल्य वृद्धि गरी १,७३२ अमेरिकी डलर बनाइएको छ भने भैरहवामा पनि पूर्वमा ७८९ अमेरिकी डलर रहेको मूल्यलाई बढाएर १,७१६ अमेरिकी डलर पुर्याइएको छ।






