
टोटनहम हटस्परले इटालियन प्रशिक्षक रोबर्टो डे जेर्बीलाई पाँच वर्षे सम्झौतामा नयाँ मुख्य प्रशिक्षक तय गरेको छ। डे जेर्बीले सिजनका बाँकी सात खेलमा टोटनहमलाई रेलिगेसनबाट जोगाउने चुनौती लिनुपर्नेछ। अहिलेसम्म टोटनहम प्रिमियर लिगमा १७औं स्थानमा छ र रेलिगेसन जोनभन्दा केवल एक अंक माथि छ। टोलीको रेलिगेट भएपनि उनको सम्झौतामा बाहिरिन पाउने (रेलिगेसन क्लज) व्यवस्था गरिएको छैन।
डे जेर्बीले भने, ‘यो विश्वकै प्रतिष्ठित क्लबमध्ये एकमा काम गर्न पाउँदा म अत्यन्त खुशी छु। क्लबको भविष्यप्रति स्पष्ट महत्वाकांक्षा छ र म त्यसलाई पूरा गर्न यहाँ आएको हुँ।’ टोटनहमले यसअघि प्रशिक्षक इगोर टुडोरसँग सहमतिमा बिदाइ गरेको थियो। डे जेर्बी क्लबको पहिलो रोजाइ थिए र आइतबारदेखि भएको छलफल सफल भएपछि उनलाई तुरुन्तै नियुक्त गरिएको हो।
डे जेर्बीको पहिलो खेल अप्रिल १२ मा सन्डरल्यान्डविरुद्ध हुनेछ र त्यसपछि उनी आफ्नो पूर्व क्लब ब्राइटनसँग खेल्नेछन्। टोटनहमका स्पोर्टिङ निर्देशक जोहान लाङले भने, ‘डे जेर्बी हाम्रो पहिलो रोजाइ थिए। उनी आधुनिक र आक्रामक शैलीका उत्कृष्ट प्रशिक्षकमध्ये एक हुन्।’






