Skip to main content

बाब अल-मान्डब : इरानले अर्को महत्वपूर्ण जलमार्ग बन्द गर्ने धम्की दिएको छ

रेड सीको एक महत्वपूर्ण जलमार्ग विरुद्ध इरानले दिएको धम्कीले विश्वव्यापी व्यापारमा थप अवरोध आउन सक्ने भय बढाएको छ। इरानले पहिले नै ‘पर्सियन खाडी’ हुँदै हुने जहाजहरूको आवागमन रोकेर ‘होर्मुज स्ट्रेट’लाई प्रभावमा राखेको छ। अहिले उसले ‘एडेनको खाडी’ र ‘रेड सी’ बीच रहेको ‘बाब अल-मान्डब स्ट्रेट’ बाट सूइज नहरसम्मको व्यापारमा अवरोध पुर्याउने धम्की दिइरहेको छ। इरानले अमेरिकी सेना भूमिमा परिचालित भएमा “अन्य मोर्चाहरू खुलाउन” सक्ने चेतावनी पनि दिएको छ। “बाब अल-मान्डब स्ट्रेटलाई विश्वकै रणनीतिक जलमार्गहरूमध्ये एक ठानेको छ र इरानसँग यसलाई पूर्ण रूपमा जोखिममा पर्नाउने चाहना र क्षमता दुवै छ,” इरानसँग सम्वद्ध इस्लामिक क्रान्तिकारी गार्ड कोरका समाचार स्रोत तस्नीमले एक सैन्य स्रोतलाई उद्धृत गर्दै बताएका छन्।

अमेरिकाले प्रमुख तेल टर्मिनल रहेको खार्ग टापुमा आक्रमण गरेमा इरानले बाब अल-मान्डबमा अवरोध पुर्याउने चेतावनी दिएको छ। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको तेललाई “नियन्त्रित बनाउन” र खार्ग टापु कब्जा गर्ने बारे विचार गरिरहेको बताएका थिए। बाब अल-मान्डब स्ट्रेट रेड सीको अरब तटतर्फ यमन र अफ्रिका तर्फ जिबुटी र एरित्रियाबीच अवस्थित छ। सूइज नहरसम्म पुग्न हिन्द महासागर र एडेनको खाडीबाट आउने जहाजहरू यो मार्गबाटै जानुपर्दछ। यो स्ट्रेट ११५ किलोमिटर लामो र ३६ किलोमिटर चौडो छ। सन् १८६९ मा सूइज नहर सञ्चालनमा आएपछि युरोप र एशियाबीचको सबैभन्दा छोटो समुद्री मार्ग बनेको यो जलमार्ग विश्वव्यापी व्यापारको अभिन्न हिस्सा रहँदै आइरहेको छ।

बाब अल-मान्डब स्ट्रेटमा हुने कुनै पनि आक्रमण सम्भावित रुपमा इरानी समर्थित यमनका राजनीतिक तथा सैन्य समूह हुथीहरूले गर्नेछन्। गोप्यताको शर्तमा रोएटर्ससँग कुरा गर्दै एक हुथी नेताले आफ्नो समूह इरानको समर्थनमा बाब अल-मान्डबलाई निशाना बनाउन “सैन्य रूपमा तयार” रहेको बताएका छन्। गत २८ मार्चमा हुथीहरूले इजरायलमा आक्रमण गरे, जुन अमेरिकी-इजरायली युद्धमा हुथीहरूको पहिलो संलग्नता थियो। इजरायलले यमनबाट आएका दुई क्षेप्यास्त्रहरू खसालिएको जनाएको छ। यदि बाब अल-मान्डब बन्द हुन्छ भने ऊर्जा बजारको संकट अझ गहिरो बन्न पुग्नेछ, जुन पहिलेबाटै होर्मुज स्ट्रेटको अवस्थासँग सङ्घर्षरत छ।