महिलाहरू किन कार्यस्थलमा पछि पर्छन्? अनुसन्धानले देखाएको ‘लुकेको समय अन्तर’ कारण

अनुसन्धानले देखाएको छ कि महिलाहरूले घरायसी र कार्यालय दुवै जिम्मेवारी बोकेर समय अभावका कारण प्रतिस्पर्धामा पछि पर्न बाध्य छन्। कार्यस्थलमा महिलाहरू पछि पर्नुको मुख्य कारण केवल फरक व्यवहार वा कम तलब मात्र होइन। युनिभर्सिटी अफ ईस्ट लन्डन (यूईएल) का प्रोफेसर तोयिन आदिसा र उनका सहकर्मीहरूले गरेको नयाँ अनुसन्धानले अर्को गहिरो कारण पत्ता लगाएको छ, जुन हो ‘लुकेको समय अन्तर’ अर्थात् ‘Hidden Time Gap’। ‘इन्टरनेशनल जर्नल अफ म्यानेजमेन्ट रिभ्युज’ मा प्रकाशित यस अनुसन्धानले ८८ वटा विभिन्न अध्ययनहरूको विश्लेषण गरेर निष्कर्ष निकालेको छ। जसअनुसार महिलाहरू आफ्नो क्षमता वा महत्वाकांक्षा कम भएर होइन, समय अभावका कारण कार्यस्थलमा पछि पर्किरहेका छन्।
दुइगुणा जिम्मेवारीको प्रभाव अनुसन्धान अनुसार धेरै महिला वास्तवमै ‘दुइवटा जागिर’ गरिरहेका हुन्छन्: एउटा त पारिश्रमिक पाइने कार्यालयको काम र अर्को घरभित्रको असमायिक निरन्तर कामहरू जस्तै हेरचाह, खाना पकाउने र अन्य घरायसी जिम्मेवारीहरू। यस ‘दुइगुणा कार्यभार’ का कारण महिलासँग आफ्नो नेटवर्क विस्तार गर्ने, तालिम लिने, कार्यालयमा सहभागिता बढाउने र क्यारियर विकासका लागि पर्याप्त समय हुँदैन। प्रोफेसर आदिसाले भने, ‘महिलाहरू पछि पर्नुको कारण क्षमता नभएर, उनीहरूको ‘दुइगुणा शिफ्ट’ अर्थात् घर र कार्यालय दुवै जिम्मेवारीलाई कार्यस्थलले बेवास्ता गरिरहनु हो। हामी अझै पनि त्यस्तो आदर्श कामदारको कल्पना गरिरहेका छौं जसको घरमा कुनै जिम्मेवारी छैन र जससँग अनन्त समय उपलब्ध छ।’
फ्लेक्सिबल काम गर्ने व्यवस्था मात्र पर्याप्त छैन: अध्ययनले देखायो कि धेरै संस्था फ्लेक्सिबल वर्किङ सुविधाहरू दिएका भए तापनि यसले समस्या समाधान गर्न सकेको छैन। कारण काम गर्ने समय लचकिला भए पनि उत्पादकता र उपलब्धताको अपेक्षा अझै पनि पुरानो ‘आदर्श कामदार’ मोडलमा आधारित छ जसले महिलामा थप मानसिक दबाब ल्याउँछ। यो समस्या केवल अफ्रिका वा विकासोन्मुख देशमा मात्र होइन, विश्वव्यापी रूपमा फैलिएको छ। विशेष गरी मातृत्व अवस्था सँग सम्बन्धित सांस्कृतिक अपेक्षाले महिलाको समय सीमित पार्छ र उनीहरू पुरुष सहकर्मीहरूसँग बराबरी प्रतिस्पर्धा गर्न सक्दैनन्।
सतही सुधार होइन, संरचनात्मक परिवर्तन आवश्यक: प्रोफेसर आदिसा र टोलीले यो समस्या समाधान गर्न सानातिना नीति परिवर्तन मात्र पर्याप्त नहुने स्पष्ट पारेका छन्। उनीहरूले केही महत्वपूर्ण कुरामा जोड दिएका छन्: शिशु हेरचाहमा सहयोग: कार्यस्थलमै वा नजिकै गुणस्तरीय शिशु हेरचाह व्यवस्था हुनुपर्छ। कार्यभारको न्यायोचित बाँडफाँड: महिला र पुरुष दुवैलाई घरायसी र व्यवसायिक जिम्मेवारी समान रुपमा बाँडफाँड गर्नुपर्छ। कामको पुनर्संरचना: कामको मूल्याङ्कन समयको आधारमा होइन, नतिजाको आधारमा गरिनुपर्छ र घरायसी जिम्मेवारीलाई सम्मान गर्नुपर्छ। आदिसाले भने, ‘यदि हामी साँच्चिकै समावेशी कार्यस्थल बनाउने चाहना राख्छौं भने समाजले हेरचाहलाई दिने महत्व र कार्यालयले कामदारबाट राख्ने अपेक्षा पुनर्विचार गर्नुपर्छ।’






