
सभामुख पदका लागि आज उम्मेदवारी दर्ता हुँदैछ। निर्वाचन चैत २२ गते गर्ने तय छ। संघीय संसद सचिवालयका अनुसार, आज शुक्रबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सभामुख पदको उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको छ। त्यसपछि साढे २ बजे उम्मेदवारहरूको सूची सार्वजनिक गरिनेछ। २२ गते बस्ने प्रतिनिधि सभा बैठकमा सभामुख पदका लागि प्रस्ताव पेश गरी त्यसलाई समर्थकहरूले समर्थन गर्नेछन्। उम्मेदवारीको सूचना माथि सामूहिक छलफल सकिएपछि निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची तय छ।
राष्ट्रिय समाजवादी पार्टी (रास्वपा) ले सभामुख पदमा पार्टी उपसभापति डोलप्रसाद (डीपी) अर्याललाई अघि सारेको छ। रास्वपाको बिहीबार बसेको बैठकले अर्याललाई सभामुख पदमा अघि सर्न स्वीकृति दिएको थियो। उनी सभामुख बन्ने निश्चित देखिन्छन्। रास्वपा प्रतिनिधिसभामा १८२ सिटसहित ठूलो दल भएकोले अर्यालको सभामुख पदमा निर्वाचित हुने पक्का छ। हाल सभामुख नहुँदा प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीले प्रतिनिधिसभा बैठकको अध्यक्षता गर्दै आएका छन्।
सभामुख पदमा निर्वाचनपछि चैत २३ गते राष्ट्रिय सभाको उपाध्यक्ष पदका लागि निर्वाचन हुने छ। त्यसका लागि चैत २२ गते उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ। यसअघि पद सम्हालेकी उपाध्यक्ष विमला घिमिरेको कार्यकाल २० फागुनमा समाप्त भइसकेको छ भनी हाल राष्ट्रिय सभाको उपाध्यक्ष पद रिक्त छ।






