
काभ्रेपलाञ्चोकका दुग्ध किसानले पाँच महिनादेखि दुग्ध विकास संस्थानबाट दूधको भुक्तानी पाएका छैनन्। संस्थानले पाँच महिनादेखि झन्डै एक करोड रुपैयाँ भुक्तानी गर्न बाँकी राखेको छ भने किसानहरूले नियमित भुक्तानीको माग राखेका छन्। सरकारले किसानसँग भुक्तानी गर्ने सहमति गरे पनि कार्यान्वयन नभएपछि किसानहरूले आन्दोलन गर्ने चेतावनी दिएका छन्। २० चैत, काभ्रेपलाञ्चोक।
काभ्रेपलाञ्चोकका दुग्ध किसानले सरकारी संस्थानबाटै पाँच महिनादेखि भुक्तानी पाएका छैनन्। नियमित भुक्तानी दिनेगरी विभिन्न समयमा भएका सम्झौताहरूको उल्लंघन गर्दै दुग्ध विकास संस्थानले किसानलाई दूध बेचेको पैसा पाँच महिनादेखि दिएको छैन। राजधानी काठमाडौं लगायतका बजारमा संस्थानले हरेक दिन नगदमा दूध बेच्दै आए पनि पाँच महिनासम्म दूधको भुक्तानी नपाउँदा किसानहरू मर्कामा परेका छन्।
मण्डनदेउपुर नगरपालिकाका आँपघारी दुग्ध उत्पादक सहकारी संस्था, सरस्वती दुग्द उत्पादक सहकारी संस्था र इन्द्रावती बहुउद्देश्यीय दुग्ध सहकारी मार्फत दूध संकलन गर्ने जोगिटार चिलिङ सेन्टरको मात्र झन्डै एक करोड रुपैयाँ भुक्तानी हुन बाँकी छ। आँपघारी दुग्ध उत्पादक सहकारीको मात्र ४८ लाख भन्दा बढी रकम संस्थानले भुक्तानी गर्न बाँकी रहेको संस्थाका अध्यक्ष सुरेन्द्र नेपालले जानकारी दिए।
किसानहरूले भुक्तानीको माग राख्दै यसअघिका कृषिमन्त्री लगायत विभिन्न राजनीतिक दलका नेताहरूसँग पनि भेट गरिसकेका छन्। भेटमा उनीहरूले किसानलाई मिठा आश्वासन दिएर पठाएको स्थानीय कृषक सुन्दर नेपालले जानकारी दिए। नियमित आउँदै गरेको भुक्तानी नआएपछि किसानहरू समस्यामा परेको उनले गुनासो गरे। दुग्ध विकास संस्थानले भुक्तानी समयमा नदिएपछि केही किसान तथा सहकारीहरूले भने निजी डेरीहरुलाई दूध बिक्री गर्ने गरेका छन्।
कोरोना अवधिदेखि आर्थिक मन्दी सुरु भएको र पछिल्ला दिनमा दूधको खपत घटेका कारण समयमा भुक्तानी दिन नसकिएको संस्थानले भनेको छ। आगामी दिनमा संस्थान किसानलाई समयमै दूधको भुक्तानी दिने प्रयासमा रहेको र यो समस्या नदोहोरिने आश्वासन पाएको आँपघारी दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष सुरेन्द्र नेपालले जानकारी दिए। अब पनि नियमितरुपमा भुक्तानी नपाए सबै किसानहरु जुटेर केन्द्रीय कार्यालय घेराउ गर्ने उनीहरूको चेतावनी छ।
सरकार र आन्दोलनरत दुग्ध किसान तथा डेरी उद्योगबीच बक्यौता रकम गएको दशैंअघि भुक्तानी गर्ने सहमति भएको थियो। दुग्ध उत्पादक कृषकलाई २०८२ असार मसान्तसम्मको दूधको भुक्तानी असोज ५ गतेभित्र गर्ने सहमति भएको थियो। मण्डनदेउपुरमा दूध उत्पादन गर्ने किसानको संख्या १० हजारभन्दा बढी छ। उनीहरुले दैनिकरूपमा करिब २५ हजार लिटरभन्दा बढी दूध राजधानीका बजारमा पठाउँछन्।






