Skip to main content

पश्चिम एसियामा अफवाह फैलाएको आरोपमा ११ नेपाली पक्राउ

पश्चिम एसियाका विभिन्न मुलुकहरुले सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा हालसम्म ११ जना नेपालीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमध्ये संयुक्त अरब इमिरेट्समा ३ जना, साउदी अरबमा ४ जना, कतारमा ३ जना र ओमानमा १ जना रहेका छन्। परराष्ट्र मन्त्रालयका अनुसार, इरान–इजरायल–अमेरिका युद्धसँग सम्बन्धित भ्रमपूर्ण फोटो र भिडियो सार्वजनिक गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो।

सामाजिक सञ्जालमा गलत सन्देश फैलाउनेहरूलाई पक्राउ गरी स्थानान्तरण गर्ने सम्बन्धमा ती देशहरूले कडा कानूनी कारबाही गर्ने पनि जनाएका छन्। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोक बहादुर पौडेल क्षेत्रीले शुक्रबार पत्रकार सम्मेलनमा भने, “सामाजिक सञ्जालमा भ्रम फैलाउने खालका फोटो र भिडियो सार्वजनिक गरेको आधारमा उनीहरू पक्राउ परेका हुन्।”

इरान, इजरायल र अमेरिकाबीच भइरहेको संघर्षको क्रममा इरानले खाडी मुलुकहरूमा क्षेप्यास्त्र र ड्रोनमार्फत आक्रमण गरिरहेको छ। ती आक्रमणका क्रममा आएका क्षेप्यास्त्र र ड्रोनको फोटो र भिडियो खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गरी गलत अफवाह फैलाएको आरोपमा ती नेपालीलाई पक्राउ गरिएको छ। प्रवक्ता क्षेत्रीले भने, “पक्राउ परेकाहरूको सम्बन्धित देशमा नेपाली दूतावास र नियोगहरूले आवश्यक पहल गरिरहेका छन्।” उनले थपे, “उनीहरूमाथि लागेको आरोप र तदनुसारको जरिवाना कति हुन्छ भन्ने विषयमा अनुसन्धान भइरहेको छ।”