Skip to main content

युद्धका कारण ३८ जना नेपालीको शव ल्याउन समस्या

२० चैत, काठमाडौं । पश्चिम एसियामा युद्धका कारण ३८ जना नेपालीको शव ल्याउन समस्या देखिएको छ। इजरायल–अमेरिका र इरानबीचको युद्धका कारण खाडी तथा पश्चिम एसियाका विभिन्न मुलुकबाट ३८ जना नेपालीको शव ल्याउन समस्या भएको हो। विभिन्न कारणले मृत्यु भएकाहरूको शव हवाई मार्ग सञ्चालनमा आउन नसक्दा समस्या भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। उनीहरूको शव ल्याउनका लागि आवश्यक पहल भइरहेको र चाँडै नै ल्याइने परराष्ट्र मन्त्रालयका प्रवक्ता लोक बहादुर पौडेल क्षेत्रीले जानकारी दिए।

साउदीमा १७ जना, यूएईमा १५ जना, कतारमा २ जना, बहराइनमा १ जना, इजरायल (२ जना साईप्रस र १ जना इजरायल) मा ३ जनाको शव रोकिएको हो। उनीहरूको शव नेपाल ल्याउनका लागि पहल भइरहेको प्रवक्ता पौडेलले बताए। यसअघि ०१ अप्रिल २०२६ मा कुवेतबाट ९ जना नेपालीको शव ल्याइएको थियो। कुवेत एयरवेजको उडानमार्फत ९ जनाको शव र २९१ जना यात्रुलाई भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको थियो।