
२० चैत, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को प्रेस तथा अनुसन्धान विज्ञ पदमा पत्रकार तथा लेखिका दिपा दाहाललाई नियुक्त गरिएको छ । प्रधानमन्त्रीको सल्लाहकार र सचिवालय व्यवस्थापन कार्यविधि, २०७४ बमोजिम दिपा दाहाललाई शुक्रबार उक्त जिम्मेवारी सुम्पिएको हो । दुई दशकभन्दा बढी समयदेखि पत्रकारिता र प्राज्ञिक क्षेत्रहरूमा सक्रिय दाहालले शुक्रबारदेखि आफ्नो कार्यभार ग्रहण गरेकी छिन् ।
दाहालले प्रधानमन्त्री शाहको सञ्चार रणनीति, मिडिया र अनुसन्धान कार्यहरूमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछिन् । भ्रष्टाचार नियन्त्रण, सुशासन र सामाजिक न्याय सम्बन्धी उनको पत्रकारिताको अनुभवलाई सरकारको मुख्य धारामा समाहित गर्न यस नियुक्ति गरिएको हो । दिपा दाहालसँग रेडियो, टेलिभिजन, छापा र अनलाइन सङ्गठनहरूमा २० वर्षभन्दा बढी व्यावसायिक पत्रकारिताको समृद्ध अनुभव छ ।
पछिल्लो समयमा उनी उकालो डट कममा वरिष्ठ संवाददाताको रूपमा खोज पत्रकारिता गर्दै आएकी थिइन् । उनले त्रिभुवन विश्वविद्यालयअन्तर्गत पद्मकन्या बहुमुखी क्याम्पसमा विगत सात वर्षदेखि पत्रकारिता अध्यापन गर्दै आएकी छन् र पत्रकारिता, सञ्चार कौशल तथा मौलिक नेतृत्व (अथेन्टिक लिडरसिप) विषयमा प्रशिक्षक पनि हुन् । दिपा दाहालले ‘कोभिड : नसोचेको, नभोगेको संकट’ नामक अनुसन्धानमूलक पुस्तक पनि लेखेकी छिन् ।






