एमालेको माग: सरकारी सञ्चारमाध्यमलाई मात्र सरकारी विज्ञापन दिने निर्णय फिर्ता लिन सरकारसँग आग्रह

२० चैत, काठमाडौं । नेकपा एमालेले सरकारले सरकारी सञ्चारमाध्यमलाई मात्र सरकारी विज्ञापन दिने निर्णय तुरुन्त फिर्ता लिन माग गरेको छ। शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको केन्द्रीय सचिवालय बैठकले उक्त निर्णयको कडा शब्दमा विरोध गर्दै सरकारलाई तत्काल फिर्ता लिन आग्रह गरेको हो।
‘सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने सरकारले जारी गरेको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको छ,’ बैठकको निर्णयबारे जानकारी गराउँदै उपमहासचिव लेखराज भट्टले बताए। साथै, उक्त निर्णयले स्वतन्त्र प्रेसको भूमिकालाई कमजोर पार्ने र प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने कदम भएको एमालेले जनाएको छ।
‘बैठकले स्वतन्त्र प्रेसको भूमिकालाई कमजोर पार्ने र प्रेस स्वतन्त्रतालाई कुण्ठित पार्ने सरकारको यस निर्णयको कडा शब्दमा विरोध गरेको छ। यो निर्णय तुरुन्त फिर्ता लिन सरकारसँग माग गरिएको छ,’ एमालेको निर्णयमा उल्लेख छ।






