Skip to main content

भेनिसमा प्रिमियर भएको चिनियाँ चलचित्र ‘स्नो लियोपार्ड’ निफमा प्रदर्शन

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा पेमा छेडनद्वारा निर्देशित फिल्म ‘स्नो लियोपार्ड’ प्रदर्शन गरिएको छ। यो चलचित्र भेनिस अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२३ मा प्रिमियर भएको थियो। निफ अन्तर्गत ‘सिजाङ पानोरमा’मा चार चलचित्रहरूको प्रदर्शन गरिएको छ, जसमा ‘होम अवे होम क्लोज’, ‘लर्नर्स फ्रॉम द टप अफ द वर्ल्ड’, र ‘सनराइज ओभर द प्लेटो’ समावेश छन्।

चलचित्र ‘स्नो लियोपार्ड’ तिब्बती गोठालाको जीवन तथा मानिस र वातावरणबीचको सहअस्तित्वको कथा प्रस्तुत गर्दछ। यस चलचित्रले भेनिसमा समेत प्रशंसा पाएको थियो। सिजाङ पानोरमा अन्तर्गत शनिबार अन्य तीन चलचित्रहरू ‘होम अवे होम क्लोज’, ‘लर्नर्स फ्रॉम द टप अफ द वर्ल्ड’, र ‘सनराइज ओभर द प्लेटो’ प्रदर्शन भएका छन्। यी तीनै चलचित्रहरू भृकुटी मण्डपस्थित पर्यटन बोर्डको हलमा प्रदर्शन गरिएका थिए।

गुओ यिफीको निर्देशनमा बनेको ‘होम अवे होम क्लोज’ले स्थानीय गोठालाका लागि ‘मोबाइल फोटो स्टुडियो’ नामक जनसेवा पहल सुरु गर्न भौगोलिक चुनौतीहरू सामना गर्ने एक युवकको कथा प्रस्तुत गर्दछ। चलचित्र ‘लर्नर्स फ्रॉम द टप अफ द वर्ल्ड’ का निर्देशक ज्याक मालाटेरे हुन्, जसले शैक्षिक विषयहरूलाई उजागर गरेका छन्। सियाओ सियाओवाईको निर्देशनमा बनेको चलचित्र ‘सनराइज ओभर द प्लेटो’ले एक सामान्य परिवारको शिक्षा, अर्थतन्त्र र संस्कृतिमा देखिएको उल्लेखनीय परिवर्तनलाई चित्रित गरेको छ।

यस पानोरमा अन्तर्गत आइतबार ‘वारियर किङ’ र ‘डिस्कोभरिङ सिजान २०२६’ पनि प्रदर्शन हुनेछन्। निफअन्तर्गत ‘सिजाङ पानोरमा’ एक प्रतिस्पर्धाबाहेकको विशेष प्रदर्शन कार्यक्रम हो। निफमा शनिबार प्रतिस्पर्धामा रहेका चलचित्रहरू सिभिल मल, छाया सेन्टर र रसियन हाउसमा प्रदर्शन भएका थिए। पर्यटन बोर्डमा ‘निफ फिचर पिच’ नामक कार्यक्रम पनि आयोजना गरिएको थियो, जहाँ नयाँ तथा युवा लेखकहरूले निर्माताहरूसँग कथा प्रस्तुत गरेका थिए।