Skip to main content

असन्तुष्ट पक्षको बहिष्कारपछि क्यान बोर्ड बैठक स्थगित

२२ चैत, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को शनिबार तय गरिएको बोर्ड बैठक स्थगित भएको छ। उपाध्यक्ष रोशन सिंहसहितको टोली अनुपस्थित भएपछि बैठक स्थगित गरिएको हो। नेपाल प्रिमियर लिग (एनपीएल)को खर्च विवरण माग गर्दै सिंहसहित ८ बोर्ड सदस्यले गत जेठमा क्यान अध्यक्ष चतुरबहादुर चन्दलाई ज्ञापनपत्र बुझाएका थिए। ज्ञापनपत्र बुझाउनेहरूमा सिंहसहित दुर्गा पाठक, विक्रम विष्ट, माधव कर्माचार्य, वीरेन्द्र चन्द, अर्जुन पौडेल, प्रदीप मजगैयाँ र जयन्ती भट्ट थिए। क्यानले उक्त विवरण हालसम्म नदिएको भन्दै शनिबारको बोर्ड बैठक बहिष्कार गरिएको छ भन्ने स्रोतले जनाएको छ।

बैठकको एजेन्डामा साधारण सभा, बजेट, वार्षिक कार्यक्रम र अडिट रिपोर्ट समावेश थिए। स्थगित भएपछि बोर्ड बैठक सोमबार बस्ने तय भएको छ। क्यान अध्यक्ष चन्दले सबै सदस्यको उपस्थिति सुनिश्चित गर्न बैठक सोमबार सारिएको बताए। ‘केही साथीहरू बाहिर हुनुहुन्थ्यो, अनौपचारिक रूपमा छलफल भयो। सबैको उपस्थितिको आश्वासनका लागि सोमबारको लागि बोलाएको छौं,’ उनले भने।