Skip to main content

मञ्जुश्री ट्रेल रेसको छैटौँ संस्करण वैशाखको पहिलो सातामा हुँदै

मञ्जुश्री ट्रेल रेसको छैटौँ संस्करण २०८३ साल वैशाख ४ गतेदेखि ६ गतेसम्म सञ्चालन हुने भएको छ। प्रतियोगितामा १०० माइल्स, ८० किलोमिटर, ५० किलोमिटर, २० किलोमिटर र १० किलोमिटर गरी पाँच विधामा दौड हुने छ। १०० माइल्स, ८० किलोमिटर र ५० किलोमिटर विधाहरू अन्तर्राष्ट्रिय ट्रेल रनिङ संघबाट मान्यता प्राप्त छन्।

काठमाडौंमा आइतबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी दिँदै आगामी अप्रिल १७ देखि १९ (२०८३ वैशाख ४ देखि ६) सम्म प्रतियोगिता सञ्चालन गरिने जानकारी दिएका छन्। रेस चन्द्रागिरीस्थित पातले वन रिसोर्टबाट सुरु भई काठमाडौं उपत्यकाका विभिन्न ट्रेल मार्ग हुँदै सोही स्थानमा सम्पन्न हुनेछ। मञ्जुश्री ट्रेल रेसका अध्यक्ष नारायण आचार्यका अनुसार यस संस्करणमा पनि विगत झैं १०० माइल्स, ८० किलोमिटर, ५० किलोमिटर, २० किलोमिटर र १० किलोमिटर गरी पाँच विधामा प्रतिस्पर्धा गरिनेछ।

रेस निर्देशक आदर्श मिश्रले बताएअनुसार १०० माइल्स, ८० किलोमिटर र ५० किलोमिटर विधाहरू अन्तर्राष्ट्रिय ट्रेल रनिङ संघ (आईटीआरए) बाट मान्यता प्राप्त छन्। यी कार्यक्रमहरू युटिएमबी तथा एसिया ट्रेल मास्टर्स सिरिजअन्तर्गत समेत पर्दछन्। हालसम्म प्रतियोगितामा ४८० नेपाली र १११ विदेशी गरी कुल ५९१ धावकले नाम दर्ता गरिसकेका छन्। मञ्जुश्री ट्रेल रेसले नेपालका धेरै अल्ट्रा धावकहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा परिचित गराएको छ।

प्रतियोगिताले विदेशी धावकलाई आकर्षित गरी पर्यटन प्रवर्द्धन गर्न र नेपाली धावकहरूलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पुग्न सहयोग गर्ने अपेक्षा गरिएको छ। प्रतियोगिता आयोजनाका लागि करिब ४० लाख रुपैयाँ आवश्यक भए पनि स्रोत अभावका कारण यस वर्ष २० देखि २५ लाख रुपैयाँ भित्रमै खर्च गरिने लक्ष्य रहेको अध्यक्ष आचार्यले बताए। मञ्जुश्री ट्रेल रेस धार्मिक तथा ऐतिहासिक कथाहरूसँग पनि जोडिएको छ।

प्रतियोगिताको उद्देश्य साहसिक तथा वातावरणमैत्री खेलमार्फत पर्यटन प्रवर्द्धन गर्नु, नेपालको प्राकृतिक सुन्दरता विश्वसामु प्रस्तुत गर्नु, स्थानीय समुदायका धावकहरूलाई सशक्त बनाउनु तथा स्वस्थ जीवनशैली प्रवर्द्धन गर्नु हो। “यो केवल प्रतिस्पर्धा मात्र होइन, दिगोपना र सचेतनाको अभियान समेत हो,” उनले जोड दिए।