
२२ चैत, हेटौंडा । बागमती प्रदेश सरकारले सात महिनापछि प्रदेशसभाको बैठक आह्वान गर्ने निर्णय गरेको छ । आइतबार सम्पन्न मन्त्रिपरिषद्को बैठकले प्रदेशसभाको बजेट अधिवेशन आगामी २४ चैत, मंगलबार बोलाउन प्रदेश प्रमुख दीपकप्रसाद देवकोटालाई सिफारिस गर्ने निर्णय गरेको हो । प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले प्रदेशसभाको अधिवेशन आह्वान गरिएको जानकारी दिएका छन् । प्रदेश सरकारको सिफारिसअनुसार प्रदेश प्रमुखले अधिवेशन आह्वान गर्ने व्यवस्था छ ।
प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट निर्माण तयारीमा जुटेको छ । बागमती प्रदेशसभाको पछिल्लो बैठक १७ भदौ २०८२ मा सम्पन्न भएको थियो । जेनजी आन्दोलनपछि बैठक सञ्चालन गर्न नसकेको सरकारले ३ मंसिरमा प्रदेशसभाको १६ औं अधिवेशन समापन गरेको थियो । उक्त अधिवेशनमा मात्र २४ वटा बैठकहरू बसेको प्रदेशसभा सचिवालयका प्रवक्ता कानुन अधिकृत प्रकाश चापागाईंले जानकारी दिए ।
प्रदेशसभाको सभाहल जेनजी प्रदर्शनका क्रममा तोडफोड तथा आगजनीबाट क्षतिग्रस्त भएपछि बैठक हेटौंडा उपमहानगरपालिका–२ स्थित उपमहानगर कार्यालय भवनभित्र निर्माण गरिएको मुख्यमन्त्री कार्यालयको सभाहलबाट सञ्चालन गरिनेछ । त्यस सभाहलमा पनि जेनजी प्रदर्शनका क्रममा क्षति पुगेको थियो । प्रदेशसभा बैठक सञ्चालनका लागि करिब २ करोड रुपैयाँ लागतमा मर्मतसम्भार गरिएको छ ।
यस्तै, बागमती प्रदेशसभाको रिक्त सभामुख पदमा सत्तारुढ दलभित्र सहमति नमिल्दा प्रदेशसभा अनिश्चित अवस्थामा थियो । प्रदेशसभा बैठक सुरु भएको १५ दिनभित्र सभामुख चयन गर्नुपर्ने कानुनी व्यवस्था अनुसार सरकार त्यसका लागि तयारीमा छ । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसको केही समयअघि संसदीय दलको बैठकले सभामुखमा दावी गर्ने निर्णय गरेको छ भने सत्ता साझेदार दल नेकपा एमालेले पनि सभामुख पदमा दावी गरेको छ । प्रमुख प्रतिपक्षी दल नेकपाले पनि सभामुख पाउनुपर्ने अडान कायम राखेको छ । जेनजी प्रदर्शन चर्किएको समयमा २४ भदौमा सामाजिक सञ्जालमार्फत राजीनामा दिएका सभामुख भुवनकुमार पाठकले १ असोजमा उपसभामुख अप्सरा चापागाईंलाई राजीनामा पत्र बुझाएपछि उक्त पद रिक्त भएको हो । पाठक पार्टीका भागबन्डाका आधारमा राप्रपाबाट सभामुख बनेका थिए भने उपसभामुख एमालेकी अप्सरा चापागाईं थिइन् ।






