Skip to main content

फेन्सिङ खेलाडी अनिता कार्की सगरमाथा आरोहणको तयारीमा

फेन्सिङ खेलाडी अनिता कार्कीले विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने तयारी गरिरहेकी छिन्। नेपाल ओलम्पियन संघका अध्यक्ष दीपक विष्ट र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले सोमबार आयोजित एक कार्यक्रममा उनलाई सफलताको शुभकामना दिँदै बिदाइ गरे। अनिता मंगलबार काठमाडौँबाट लुक्लाको लागि प्रस्थान गर्नेछिन्।

अनिताले करिब एक सातामा बेसक्याम्प पुग्ने योजना बनाएकी छिन्। उनले आफ्नो स्वास्थ्य लगायतको अवस्था जाँच गरी आरोहणको मिति तय गर्ने बताइन्। आरोहणको क्रममा उनले ओलम्पियन संघ, खेलाडी संघ र नेपाल फेन्सिङ संघको झण्डा बोकेर जाने जानकारी दिएकी छिन्।

नेपालमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुदका रजत पदक विजेता अनिताले यसअघि ६०३८ मिटर उचाइको छुलु फारइस्ट हिमाल आरोहण गरिसकेकी छिन्।