
चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा नेपालको अर्थतन्त्र ४.५ प्रतिशतले वृद्धि हुने राष्ट्रिय तथ्यांक कार्यालयले अनुमान गरेको छ। विद्युत् उत्पादन, वित्तीय सेवा, पशुजन्य उत्पादन र पर्यटक आगमनमा वृद्धिले आर्थिक विस्तारमा महत्वपूर्ण योगदान गरेको कार्यालयले उल्लेख गरेको छ। निर्माण र खानी उत्खनन क्षेत्रमा संकुचन भए पनि विद्युत् तथा ग्यास क्षेत्रमा २२.७५ प्रतिशतले उल्लेखनीय वृद्धि देखिएको तथ्यांकले प्रष्ट पारेको छ।
२४ चैत, काठमाडौं। राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमास (कात्तिक–पुस) को त्रैमासिक राष्ट्रिय लेखा तथ्यांक सार्वजनिक गर्दै अर्थतन्त्र ४.५ प्रतिशतले वृद्धि हुने अनुमान प्रस्तुत गरेको हो। त्रैमासिक लेखा तथ्यांकमा पूर्व वर्षकै सोही त्रैमासको तुलना गरी मौसमी प्रभाव समायोजन नगरिएको तथ्यांक उल्लेख गरिएको छ।
कार्यालयका अनुसार विद्युत् उत्पादन र वितरणको वृद्धिले, निक्षेप संकलन तथा ऋण प्रवाह, निर्जीवन बीमा प्रिमियम संकलन, पशुजन्य उत्पादन, फलफूल तथा तरकारी उत्पादन, व्यापार सेवा, पर्यटक आगमनसहित औद्योगिक क्षेत्रमा भएको गतिविधिले अर्थव्यवस्थाको विस्तारमा योगदान पु¥याएको छ। यस अवधिमा औद्योगिक वर्गीकरण अनुसार सबै १८ क्षेत्र सकारात्मक वृद्धिदरमा छन्।
यस वर्ष सरकारले करिब ६.५ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको थियो। तर, निर्माण सामग्री आयात, धानबाली उत्पादन र केही घरेलु वस्तुहरूको उत्पादनमा आएको गिरावटका कारण यस त्रैमासमा वृद्धि दर अपेक्षाकृत कम देखिएको कार्यालयको विश्लेषण छ।
मौसमी प्रभाव समायोजित तथ्यांक अनुसार, चालु आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा दोस्रो त्रैमासमा २.०४ प्रतिशतले अर्थतन्त्र बिस्तार भएको छ। १८ औद्योगिक वर्गीकरणमध्ये १६ क्षेत्रमा वृद्धि र २ क्षेत्रमा संकुचन देखिएको छ। निर्माण र खानी तथा उत्खनन क्षेत्रमा संकुचन आएको तथ्यांकले देखाएको छ।
विद्युत् र ग्यास क्षेत्रले अर्थतन्त्रमा सबैभन्दा धेरै योगदान दिँदै २२.७५ प्रतिशत वृद्धिदर प्राप्त गरेको छ। कृषि क्षेत्र सबैभन्दा ठूलो हिस्सेदार हो। तर, यस क्षेत्रको वृद्धिदर अघिल्लो वर्षकै सोही अवधिसँग तुलना गर्दा २.२१ प्रतिशतमा सिमित रहेको छ। विशेषतः धानबालीमा आएको कमीले कृषिमा असर परेको कार्यालयले जनाएको छ।
वित्तीय तथा बीमासम्बन्धी सेवा, यातायात तथा भण्डारण, आवास तथा भोजन, थोक तथा खुद्रा व्यापारमा क्रमशः १२.५१, ९.६५, ५.१८ र ४.११ प्रतिशत विस्तार भएको तथ्यांक छ। अर्थतन्त्रमा दोस्रो ठूलो हिस्सा ओगट्ने थोक तथा खुद्रा व्यापारको वृद्धिदर ४.११ प्रतिशत रहने अनुमान गरिएको छ। उद्योगजन्य वस्तुहरूको घरेलु उत्पादन र आयातमा वृद्धिले यसमा योगदान गरेको हो।
यस अवधिमा पानी आपूर्ति, ढल निकास र फोहोर व्यवस्थापनमा ०.५५ प्रतिशत, सार्वजनिक प्रशासन, रक्षा तथा अनिवार्य सामाजिक सुरक्षामा १.११ प्रतिशत र शिक्षामा १.१६ प्रतिशत मात्र वृद्धिदर हुँदा समग्र अर्थतन्त्रका वृद्धिदर कम देखिएका छन्।
आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासमा अर्थतन्त्र विस्तार १ प्रतिशतले घटेको थियो। त्यसयता हरेक त्रैमासमा आर्थिक वृद्धिदर लगभग स्थिर देखिएको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासमा आर्थिक वृद्धिदर ३.२४ प्रतिशत रहेको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ।
अघिल्लो त्रैमासको तुलनामा यो त्रैमासमा सबैभन्दा बढी वृद्धिदर यातायात तथा भण्डारण सेवामा देखिएको छ, जसको वृद्धिदर ६.२० प्रतिशत रहेको छ। कृषिमा २.४८ प्रतिशत, विद्युत् तथा ग्यासमा ३.१६, वित्तीय तथा बीमामा ३.८२ र शिक्षामा १.२२ प्रतिशत वृद्धिदर भएको छ। निर्माण क्षेत्रमा ०.५९ प्रतिशत र खानी तथा उत्खननमा ०.८५ प्रतिशत गिरावट आएको छ, राष्ट्रिय तथ्यांक कार्यालयका प्रवक्ता तथा उपप्रमुख तथ्यांक अधिकारी ढुन्डीराज लामिछानेले जानकारी दिएका छन्।
उनका अनुसार प्रत्येक त्रैमासिक अवधिको समाप्तिपछि ९० भित्र त्रैमासिक लेखा अनुमान सार्वजनिक गरिन्छ। कार्यालयले आर्थिक वर्ष २०६७/६८ देखि यस प्रकारको त्रैमासिक राष्ट्रिय लेखा अनुमान सार्वजनिक गर्दै आएको छ। यस वर्षकाे जेएनजी आन्दोलनका कारण पहिलो त्रैमासमा अर्थतन्त्रमा अनिश्चितता देखिएको थियो। तर दोस्रो त्रैमासमा चुनावी सरकारले अर्थतन्त्रलाई गतिशील बनाउन विभिन्न प्रयासहरू गरेको थियो।






