
२४ चैत, काठमाडौं । स्वास्थ्य बीमा ऐन २०७४ को दफा २५ को उपदफा १ अनुसार निरन्तर तीन पटक बैठकमा अनुपस्थित रहँदा सदस्यलाई स्वतः निलम्बन गरिने व्यवस्था छ। ऐनमा भनिएको छ, ‘‘बोर्डलाई जानकारी नदिई लगातार तीन पटक बोर्डको बैठकमा अनुपस्थित भएमा अध्यक्ष, सदस्य र कार्यकारी निर्देशकको पद रिक्त मानिनेछ।’
स्वास्थ्य बीमा बोर्डको सदस्यमा मनोनीत भएकी जुनु श्रेष्ठ ११ पटक बैठकमा उपस्थित भएकी थिइन्। ४ वैशाख २०८१ मा बीमा बोर्डले स्वास्थ्य मन्त्रालयलाई आवश्यक कार्यान्वयनका लागि पत्र पठाएको थियो। त्यसपछि वेगेरी जुनुले सोमबार बसेको बैठकमा आकस्मिक रूपमा उपस्थित जनाइन्। उनलाई तत्कालीन स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले बोर्ड सदस्यमा नियुक्त गरेका थिए।
तीन पटक सूचना नदिई बैठकमा अनुपस्थित भएमा पद रिक्त हुने नियम बमोजिम तत्कालीन बोर्डका निर्देशक डा. रघुराज काफ्लेले स्वास्थ्य मन्त्रालयलाई पत्र पठाए। पत्रमा उल्लेख थियो, ‘‘२०८१ पुस १ गतेदेखि चालू आव २०८१ र ०८२ को चौथो बोर्ड बैठकदेखि अहिलेसम्म एघारौँ बोर्ड बैठकसम्म लगातार अनुपस्थित रहेको देखिन्छ। सदस्यको अनुपस्थितिले बोर्डको बैठक र निर्णय प्रक्रिया प्रभावित हुँदै आएको छ।’
फिजिकल रूपमा उपस्थित नभएकाले जुनुलाई हटाएर बोर्ड सदस्य पद रिक्त गरिएको थियो। यसपछि उक्त सदस्य पद रिक्त रहेको छ र उनको नाम बोर्डको वेबसाइटमा पनि छैन। तर उनले सोमबारको बैठकमा उपस्थिती जनाएकी थिइन्। ‘‘जुनु हिजोको बैठकमा हुनुहुन्थ्यो। हाजिर पनि गर्नुभयो,’’ बोर्डका एक सदस्यले बताएका छन्।
बोर्डका अन्य सदस्यका अनुसार श्रेष्ठ लगातार अनुपस्थित रहँदा उनको विषयमा बैठकमै छलफल गरिएको थियो। अध्यक्षले तीन पटकसम्म बैठक अनुपस्थित भएको प्रश्न उठाएका थिए, तर औपचारिक रूपमा उनलाई बर्खास्त गरिएको थिएन। जुनु अध्ययनका लागि बेलायत गएकी थिइन्। केही समयअघि फर्किएपछि उनले बोर्ड सदस्यहरूसँग आफू उपस्थित हुन पाउनुपर्ने माग राखेकी थिइन्।
यसैबीच, जुनुले स्वास्थ्य मन्त्री निशा मेहतासँग भेटेर आफ्नो विषयमा छलफल गरेकी थिइन्। ‘‘यसअघिका दुई बैठकमा उनलाई बोलाइएको थिएन। उनले मन्त्रीसँग छलफल गरेको बताएको थियो,’’ बोर्डका सदस्यले भने, ‘‘पछिल्लो बैठकमा उनलाई सहभागी गराइएको थियो।’
सोमबारको बैठकमा कार्यकारी निर्देशकसहित सात जनाको उपस्थिति रहेको थियो। श्रेष्ठ श्रम मन्त्री दीपककुमार शाहकी श्रीमती हुन्। सञ्चार माध्यममा स्वास्थ्य मन्त्री निशा मेहताले श्रम मन्त्री दीपककुमार शाहकी श्रीमती जुनु श्रेष्ठलाई स्वास्थ्य बीमा बोर्ड सदस्यमा नियुक्त गरेको समाचार प्रकाशन भयो।
यस विषयमा सामाजिक सञ्जालमा चर्चा भएपछि जुनुले आफ्नो नियुक्ति नभएको र कुनै पत्र नपाएको खण्डन गर्दै स्पष्टीकरण दिइन्। ‘‘स्वास्थ्य बीमा बोर्ड सदस्य सम्बन्धी आएका खबरसँग मेरो कुनै सम्बन्ध छैन र मैले मनोनयन सम्बन्धी कुनै पत्र पनि पाएको छैन,’’ उनले सामाजिक सञ्जालमा लेखेकी थिइन्।
जुनुले आफ्नो यसअघिको नियुक्ति २०८० सालमा भएको र त्यो चार वर्ष (२०८४ सालसम्म) का लागि रहेको स्पष्ट पारिन्। उनले भनिन्, ‘‘अहिलेको पुनः नियुक्तिको विषय मेरो जानकारी बाहिर छ। म यस विषयमा कुनै आधिकारिक जानकारी पाएको छैन। त्यसैले अहिलेको नियुक्ति सम्बन्धी खबर भ्रामक हो र त्यसप्रति मेरो खेद छ।’
बैठकले वार्षिक बजेट पारित गर्यो
बीमा बोर्डका एक सदस्यका अनुसार सोमबार बसेको बैठकले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि वार्षिक बजेट पारित गरेको छ। २५ चैतमा बीमा कार्यक्रम सुरु भएको १० वर्ष पूरा हुनेछ। वार्षिकोत्सव कार्यक्रममा सार्वजनिक गर्न तयारी गर्ने विषयमा छलफल भएको थियो।
बोर्डका सदस्यले बताएअनुसार बैठकको मुख्य एजेन्डा वार्षिक कार्यक्रमका लागि आवश्यक बजेट पारित गर्नु नै थियो। ‘‘भोलि हुने वार्षिकोत्सव कार्यक्रममा बजेट पास भएको पुस्तक सार्वजनिक गर्ने तयारी भइरहेको कारण बजेट पारित गरिएको हो,’’ सदस्यले भने।
बैठकमा स्वास्थ्य बीमा सम्बन्धी ऐनमा संशोधन गर्ने विषयमा पनि प्रारम्भिक छलफल भएको छ। केही बुँदामा संशोधन आवश्यक देखिएपछि थप अध्ययन गरी अर्को बैठकमा अन्तिम निर्णय गर्ने सहमति भएको सदस्यहरूले बताए।
‘‘जुनुले हिजोको बैठकमा सदस्यको रूपमा सहभागिता जनाइन्, हाजिर पनि देखिइन्,’’ ती सदस्यले भने।






